धरान । प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले पार्टी एकताका लागि मार्ग प्रशस्त गरेपछि बनेको भीम आचार्य नेतृत्वको प्रदेश सरकार र नेकपा (एमाले) प्रदेश १ को राजनीतिक कोर्ष संवादहीनतामा जकडिएको छ ।

नेकपा (एमाले)भित्र केपी ओली लाइन र नेकपा एकीकृत समाजवादीतर्फ जान नचाहेका तत्कालीन माधव नेपाल लाइन (१० बुँदे लाइन) को कित्ताकाट ‘ओपन सेक्रेट’ जस्तै देखिएको छ । फेरिएको राजनीतिक कोर्षले प्रदेश १ का नेता कार्यकर्तामा सहज वातावरण निर्माण गर्न सकिरहेको छैन । ‘यो मनोविज्ञान र संशय कहिलेसम्म हुने हो थाहा छैन’ नेकपा (एमाले)का एक जिल्ला नेताले भने, ‘सार्वजनिक कार्यक्रममा बोलचाल गर्ने र हात मिलाउने अवस्थासम्म देखिएको छैन, यो तीव्र तिक्तता र आलोचनाको परकम्प हो, सहज अवस्थामा आउन समय लाग्ला नै ।’ 

मुख्यमन्त्री आचार्य प्रदेश १ सरकारको नेतृत्व गरेपछि लगातार विभिन्न उद्घाटन र शिलान्यासमा सहभागी भइरहेका छन् । उनका अघिपछि नजिकका कार्यकर्ताका रूपमा ‘१० बुँदे लाइन’ मा नै हाबी छन् । ओली लाइनका नेता कार्यकर्ता कार्यक्रममा त देखिन्छन् तर, प्रदेश १ मा यो लाइन ‘अण्डर स्टेज’ देखिएको छ ।

‘नगरस्तरीय नेता मुख्यमन्त्री भीम आचार्यका पछि लुसुक्क बसेका छन्, यता राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरू भने स्टेजमुनि झोक्रिएका छन्’ एमालेका ती नेताले भने, ‘मान हे तो मान नहीँ तो मे तेरा मेहमान’ भन्छ नि त्यस्तै आउरे–बाउरे स्टेजमाथि चढेका छन् ।’

शनिबार सर्दू करिडोर शिलान्यासका लागि धरान आइपुगेका मुख्यमन्त्री आचार्यले छेउमै बसेका सभामुख प्रदीपकुमार भण्डारीलाई ठाडो नजरले पनि हेरेनन् । न उनको अनुहारमा मुस्कान थियो, न हात मिलाउने र अभिवादन साटासाट गरेकै देखियो । त्यस्तै नेकपा (एमाले)का राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरू मुरारी सुवेदी, मोतीराज सुनुवार, विजय राई स्टेजमन्दा तल कुर्सीमा थिए ।

उनीहरूलाई न कार्यक्रम सञ्चालकले नै स्टेजमा बोलाइदिए, न  त उनीहरू मुख्यमन्त्रीका पछि नै लागे । तर, माओवादी नेता मुक्सामहाङ मेन्याङ्बो भने मुख्यमन्त्रीको पछिपछि गएर दायाँतिर बसे । नेता कार्यकर्ताबीचको संवादहीनताले पार्टी निर्माणमा अवरोध सिर्जना गर्ने एमालेकै नेता कार्यकर्ता बताउँछन् ।

मुख्यमन्त्री आचार्य ‘मुडी’ व्यक्ति भएका कारण पनि सहज संवाद हुन सकेको छैन । आचार्यलाई नै बोलाउनु पर्ने र उनको पछि लाग्नुपर्ने अवस्था सिर्जना भएको छ । लामो रस्साकस्सी, प्रतिगामी–अग्रगामीलगायतका आरोप–प्रत्यारोपपछि पार्टी एक ठाउँमा आएका कारण अवस्था सहज हुन समय लाग्ने नेता कार्यकर्ताको मत छ ।

मतान्तरबीच मुख्यमन्त्री आचार्यले प्रदेश १ सदनमा विश्वासको मत प्राप्त गर्ने विश्वास लिएका छन् । शनिबार धरानमा बोल्दै मुख्यमन्त्री आचार्यले काङ्ग्रेसले समेत ‘फ्लोर क्रस’ गरेर भए पनि आफूलाई विश्वासको मत दिने सङ्केत गरेका छन् ।

k-p-oli-ka-manxe-2