राजनीतिक स्थिरता र मितव्ययीता भएमात्र संविधान दिवसको मर्म र भावना सार्थक हुने प्रदेश नं १ को प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले बताएका छन् । 

संविधान दिवसको अवसरमा ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने शुभकामना दिंदै प्रदेश प्रमुख प्यासीले देशमा राजनीतिक स्थिरता, दिगो शान्ति स्थापना, सुशासन, वित्तीय अनुशासन, मितव्ययीता, भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता कायम गरी राष्ट्रको दिगो विकास गर्नसकेमा मात्र संविधान दिवसको मर्म र भावना सार्थक हुने उल्लेख गरेका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख प्यासीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताबीचको एकतालाई अझ बलियो बनाउन आग्रह गरे । 

सन्देशमा भनिएको छ– सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै सबै प्रकारका विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने धेय संविधानको रहेको छ ।’