इटहरी । नेपाली काङ्ग्रेसको आसन्न चौधौं महाधिवेशनका कारण बढेको चुनावी सरमर्गी यतिबेला काङ्ग्रेसकै लागि प्रत्यूत्पादक हुने सम्भावना बढिरहेको छ ।

वडाको अधिवेशन सम्पन्न भएसँगै असोज ९ गते हुन लागेको नगर अधिवेशनमा गुटगत प्रतिस्पर्धाका कारण प्रत्यूत्पादक हुने खतरा बढेको हो । गुटगतभित्र पनि आआफ्नैभित्र तीव्र प्रतिस्पर्धा सुरु भएको छ । नगरको नेतृत्व चयनमा जुटेका काङ्ग्रेसीहरू आफ्नो गुट भित्रको अङ्क गणितमा जुटेका छन् ।

नेतृत्वका लागि आकाङ्क्षीहरू समेत उम्मेदवारी घोषणासँगै आन्तरिक प्रतिष्प्रर्धामा उत्रिएका छन् । सुनसरीका नगरमा अधिकांश पुरानै अनुहारहरू चुनावी मैदानमा छन् । नगरहरूमा क्षेत्रीय प्रतिनिधिले मात्र मतदान गर्न पाउने भएपछि विगत वर्षका भन्दा यसपटकको चुनावी प्रतिस्पर्धा फरक परिस्थिति देखिँदै छ ।

इनरुवा नगर सभापतिमा अहिले हालका सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख राजन मेहेता पुनः सभापतिको तयारी लागेका छन् । उनीसँगै सितोष पोखरेल, रोशन खड्का र योगेन्द्रप्रसाद मेहेताले सभापतिमा दाबी गरेका छन् । रामधुनी सभापतिमा हालकै सभापति सुदीप अधिकारी पुनः सभापति उठ्ने भएका छन् ।

रामचन्द्र पौडल समूहका मानिएका उनको प्रत्यासी उम्मेदवार भने शेरबहादुर देउवा पक्षधर छन् । देउवा समूहबाट सभापतिमा सगेन चौधरी र हालका नगर सचिव दिलबहादुर राई उठ्दै छन् । दुहवी नगरसभापतिका लागि हालका मेयर वेदनारायण गच्छदार नै उठ्ने भएका छन् । उनी विजय गच्छदार निकट मानिन्छन् ।

त्यस्तै गुलाबी मियाँ, सन्तोष रौनियार, रमेश रौनियार पनि सभापतिको दाबी गरिरहेका छन् । वराहक्षेत्र नगर सभापतिमा देउवा टिमबाट रमेश कार्की र रत्नबहादुर राउतको दाबी छ । पौडेल समूहबाट नारायण नेपाल छन् । वराहक्षेत्रमा पनि चुनावी सरगर्मी बढिरहेको छ । देउवा पक्षकै दुई उम्मेदवार भएपछि सभापति छनौटमा सकस भएको छ ।

त्यस्तै इटहरी नगर सभापतिमा हालकै सभापति हेमकर्ण पौडेल र विद्यार्थी राजनीतिबाट आएका विकास केसी सभापतिका आकाङ्क्षी छन् । त्यो बाहेक हालका नगरसचिव प्रकाश बस्नेत पनि सभापतिका आकाङ्क्षी हुन् । हेमकर्ण संस्थापन इतरबाट चुनावी मैदानमा छन् केसी भने केसी देउवा टिमका हुन् ।

बस्नेत पौडेल निकट मानिन्छन् । यता धरानमा पूर्व सभापति भई सकेका किशोर राई चुनावी मैदानमा छन् । देउवा निकट उनको समूहले शुक्रबार मात्रै उम्मेदवारी घोषणा गरेको छ । त्यस्तै पौडेल पक्षबाट हालका नगर सचिव श्याम पोखरेल चुनावै मैदानमा छन् ।

अधिकांश नगरमा देउवा र पौडेल पक्षबीच भिडन्त भए पनि देउवा पक्ष मानिएकाहरू आन्तरिक प्रतिस्पर्धामा छन् । बागी उम्मेदवार उठ्ने हो कि भन्ने अर्को चिन्ता नेताहरूमा पर्दै गएको छ । धरानबाहेक अन्य नगरको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ । सुनसरीमा भने वर्तमान सचिव केदार भण्डारी र उपसभापति सञ्जय श्रेष्ठ चुनावी मैदानमा छन् ।