इनरुवा । नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशन तालिकाअनुसार वडा अधिवेशन सम्पन्न भई नगर अधिवेशनको मिति नजिकिँदै गर्दा इनरूवा काङ्ग्रेसमा सरगर्मी बढेको छ ।
इनरूवामा नगर सभापति पदमा दुईभन्दा बढी आकाङ्क्षी देखिएका छन् । जसअनुरूप नगर प्रमुख समेत रहेका राजन मेहता, योगेन्द्रप्रसाद मेहता, सितोष पोखरेल र रोशन खड्काले उम्मेदवारी घोषणा गरेका छन् । भदौ २७ का लागि तोकिएको नगर अधिवेशनको कार्य तालिका परिवर्तन भएकाले समेत नगर काङ्ग्रेसमा उम्मेदवारीको विषय रोचक र प्रतिष्पर्धात्मक बन्दै गएको छ । नयाँ तालिकाअनुसार काङ्ग्रेसको नगर अधिवेशन असोज ९ गते हुँदै छ ।
अधिवेशनको तयारीमा जोडतोडले लागेका काङ्ग्रेसीहरू परिणाम आफ्नो पक्षमा पार्न बेग्लाबेग्लै समूह निर्माणमा जुटेका छन् । पक्षविपक्षमा लविङसमेत सुरु भएको छ । नगर प्रमुख समेत रहेका मेहता महाधिवेशनबाट कार्यकाल पुनः दोहो¥याउने पक्षमा छन् । दुई कार्यकाल नगर कार्य समितिको सचिव रहेका रोशन खड्कासमेत यसपटक सभापतिमा लड्ने अठोटका साथ मैदान उत्रिएका छन् ।
योगेन्द्रप्रसाद मेहताले पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसैगरी सितोष पोखरेलले समेत नगर सभापतिमा आफ्नो दाबेदारी रहेको बताए । नगर प्रमुखसमेत रहेका मेहता हालको समेत गरी दुई कार्यकाल सभापति रहेका व्यक्ति हुन् । उनले तेस्रोपटक सभापतिमा दाबी पेश गरिरहँदा अन्य प्रत्यासीले भने बाटो खुल्ला नगरिएकाले आफूहरूले दाबेदारी रहेको बताए ।
मेहताले भने आफूले विधान सम्मत दाबेदारी पेश गरेको बताए । उनले पहिलो कार्यकालताका काङ्ग्रेसकोे विधानले स्पष्ट नबोलेको र पछिल्लो पटक दुई कार्यकाल उठ्न पाउने भनिएकाले समेत सोही अनुरूप उम्मेदवारी घोषणा गरेको बताए ।
सभापतिको पद नछाड्न पार्टी नेतृत्व पङ्क्तिले समेत आग्रह गरेको बताउने मेहताले नगर काङ्ग्रेस मात्र नभएर आसन्न विभिन्न तह र चरणका निर्वाचनमा पकड बलियो बनाउन समेत नगर सभापतिमा आफ्नो दाबेदारी रहेको बताए । यद्यपि उनले सहमति र सहकार्यको भावनाबाट भने आफू पछि नहटेको बताए । उनले आफू सर्वसम्मतको पक्षमा रहेको बताए ।
उता पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी घोषणा गरेका योगेन्द्रप्रसाद मेहताले यस पटक कुनै पनि हालतमा पछि नहट्ने बताए । उनले अघिल्ला महाधिवेशनमा मेहतालाई साथ दिएको भए पनि अब भने उनले पद हस्तान्तरण गर्ने बेला आएको बताए ।
योगेन्द्रले एकै व्यक्ति लामो समय एउटै पदमा बस्नु पार्टी हित विपरीत हुने भएकाले समेत नेतृत्व हस्तान्तरण आवश्यक रहेको बताए । उनले नगर प्रमुखसमेत रहेका हालका नगर सभापतिको पक्षमा जनाधार कमजोर बन्दै गएकाले समेत विकल्प खोजिनु आजको आवश्यकता भएको दोहोर्याए ।
यता इनरूवा काङ्ग्रेस भित्र निर्णय लिने र छाड्ने सवालमा धेरैजसो चासो र चर्चामा रहने युवा नेता सितोष पोखरेलले यसपटक भने आफ्नो दाबेदारी मजबुत रहेको बताए ।
योगेन्द्र झैं उनी समेत राजन मेहता हराउ अभियानमा खुलेरै लागेका छन् । विगतमा दिएको साथ र समर्थनको अवमूल्यन भएकाले समेत नगर सभापतिमा उम्मेदवारी घोषणा गर्नु बाहेकको विकल्प नरहेको पोखरेलको भनाइ छ । उनले यसपटक भने आफू पछि नहट्ने भन्दै नगरमा जो व्यक्ति भए पनि नयाँ नेतृत्व चाहेको बताए ।
यस्तै नगरमा दुई कार्यकाल सचिव रहेका युवा नेता रोशन खड्काले समेत सभापतिमा आफ्नो दाबेदारी नयाँ नेतृत्वको लागि भएको बताए । उनले एकै व्यक्तिले पद ओगट्नुलाई अन्यको क्षमता कमजोर आँक्नु रहेको बताए ।
खड्काले युवा समूह मात्रै नभई ठूलो हिस्सा नेतृत्व परिवर्तनको पक्षमा रहेको बताए । उनले आफूलाई पछि हट्न दबाव आइरहेको भए पनि उम्मेदवारी घोषणा कायम रहेको बताए । खड्काले उम्मेदवारी सम्बन्धमा चुलिँदै गएको विवादले पार्टीलाई नोक्सान पु¥याउन सक्ने भएकाले जिल्ला पार्टी पङ्क्तिले बेलैमा निर्णय लिनु उचित हुने बताए ।
असोज ९ गतेका लागि तोकिएको चौधौं नगर अधिवेशनले इनरूवामा नगर सभापतिलगायत ७ पदाधिकारी र खुल्ला तर्फ ३० सहित समानुपातिकबाट २० गरी ५३ सदस्यीय नगर कार्य समिति चयन गर्नेछ । नेतृत्व चयन चुनावी प्रक्रियाबाट अगि बढेमा वडासभापति र क्षेत्रीय प्रतिनिधि गरी ४ सय २० जना मतदानमा सहभागी हुनेछन् ।