इनरुवा । नेपाली काँग्रेसको १४औँ महाधिवेशन तालिका अनुसार वडा अधिवेशन सम्पन्न भई नगर अधिवेशनको मिति नजिकिँदै गर्दा इनरुवा काँग्रेसमा सरगर्मी बढेको छ ।

इनरुवामा नगर सभापति पदमा दुई भन्दा बढी आकांक्षी देखिएका छन् । जस अनुरूप नगर प्रमुख समेत रहेका राजन मेहता, योगचन्द्र प्रसाद मेहता, सितोष पोखरेल र रोशन खड्काले उम्मेदवारी घोषणा गरेका छन् । 

भदौ २७ को लागि तोकिएको नगर अधिवेशनको कार्य तालिका परिवर्तन भएकाले समेत नगर काँग्रेसमा उमेदवारीको विषय रोचक र प्रतिष्पर्धात्मक बन्दै गएको छ । 

नयाँ तालिका अनुसार काँग्रेसको नगर अधिवेशन असोज ९ गते हुदैछ । अधिवेशनको तयारीमा जोडतोडले लागेका काँग्रेसीहरू परिणाम आफ्नो पक्षमा पार्न बेग्लाबेग्लै समूह निर्माणमा जुटेका छन् । पक्ष विपक्षमा लबिङ समेत सुरु भएको छ । 

नगर प्रमुख समेत रहेका मेहता १४औँ महाधिवेशनबाट कार्यकाल पुनः दोहोर्‍याउने पक्षमा छन् । दुई कार्यकाल नगर कार्य समितिको सचिव रहेका रोशन खड्का समेत यस पटक भने सभापतिमा लड्ने अठोटका साथ मैदान उत्रिएका छन् । 

योगेन्द्रप्रसाद मेहताले पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसैगरी सितोष पोखरेलले समेत नगर सभापतिमा आफ्नो दाबेदार रहेको बताएका छन् । 

मेहता हालको समेत गरी दुई कार्यकाल सभापति रहेका व्यक्ति हुन । उनले तेस्रो पटक सभापतिमा दाबी पेस गरिरहँदा अन्य प्रत्याशीले भने बाटो खुल्ला नगरिएकाले आफूहरूले दाबेदार पेस गरेको बताएका छन् ।