बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीले चुनावमा वडासदस्य पनि जित्न नसक्ने दावी गरेका छन् । 

झापाको बिर्तामोडमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेपालको कम्युनिष्ट आन्दोलनलाई माधब नेपालले तुहाउने षड्यन्त्र गरेको आरोप लगाए । 

ओलीले गायक जीवन शर्माको गीत स्मरण गर्दै भने ‘पिलो टनटनी पाक्दै थियो, फुत्त निस्किएर गयो । तपाईँहरुलाई यति थाहा हुनुपर्छ पिलो निचोर्दा ओजन घट्दैन ।’ ओलीले पत्कर झरेर कोशीको बहाव नरोकिने समेत बताए । माधव नेपालले एमालेलाई कमजोर बनाउन तमासा मात्र गरेको र उनको पार्टी नक्कली भएको बताए ।

१५ वर्षसम्म एमालेबाट माधब नेपालले फाइदा मात्र लिएको आरोप लगाउँदै भने, ‘माधव नेपाल आन्दोलनमा जोडिएका थिए, फेरि छुट्टिए । यसरी जोडिएका रहेछन् कि स्थायी रुपमा जोड्न रसायन नै पुगेको रहेनछ । पक्लक्क फुक्लियो ।’ उनले कार्यकर्तालाई हिम्मत नहार्न आग्रह गर्दै झन सशक्त ढंगले संगठन निर्माणमा लाग्न निर्देशन दिए । 

‘माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई धरासयी र ध्वस्त बनाउने सपना देखेका रहेछन्, ओलीले भने–‘उनको सपना पुरा हुँदैन, एमाले फुटेको होइन, चोइटिएको मात्र हो, त्यसको क्षतिपुर्ती भइसक्यो ।’ एमालेलाई सरकारबाट हटाउने मुख्य षडयन्त्र माधव नेपालको भएको आरोप ओलीले लगाए । 

ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई साथ दिनेहरू दिनहुँ माओवादीबाट अलग भइरहेको बताए । ‘प्रचण्ड मायावी मान्छे हो, जादुगर जस्तो, मलाई पनि एक पटक उहाँ साँच्चैको नेता नै हो कि जस्तो लागेको थियो, तर उहाँ धोकेवाज हो भन्ने कुरा पछि मात्र बुझ्न सकें ।’ ओलीले प्रचण्डको पछि लागेर भविष्य बरवाद नबनाउन माओवादी कार्यकर्तालाई अनुरोध गरे । उनले भने–‘तपाईँहरुको योगदान बुहारी, छोरी, ज्वाईँहरुले उपयोग गर्छन ।’

‘प्रचण्डजीले सही कुरा मुखबाट प्वाक्क निकालेछन् । हामीले त वडामा पनि जित्न हम्मेहम्मे पर्ला जस्तो हुन्छ पो भनेछन् । उनले चुनावअघि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो, अध्यक्ष ओलीले भने ।

अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र अलग भएको भए पनि कम्युनिष्ट आन्दोलनको मुल थलो एमाले मात्र भएको ओलीको भनाई थियो । ओलीले माओवादी अध्यक्ष प्रचण्डले आफ्नो गुट मात्र लिएर गएको भन्दै जनयुद्धमा सक्रिय भूमिका खेलेका धेरै नेता नेकपा एमालेमा रहेको बताए । उनको दावी थियो–‘माओवादी केन्द्र र एमालेको एकता अहिले पनि कायम छ ।’

अध्यक्ष ओलीले बिशाल कम्युनिष्ट पार्टी बनाउने आफ्नो सपना यतिबेला पुरा भएको बताए । उनले अहिले त्यस्तो पार्टी निर्माण गरेर प्रतिक्रियावादीको मुटु हल्लाएको दावी गरे । ओलीले आफु नेतृत्वको सरकारले गरेको बिकास देखेर प्रतिक्रियावादीले जालझेल गरेर सरकारबाट हट्नुपरेको बताए । 

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन गरेको यो दुई महिना खेर गएको उनको भनाई थियो । देउवाले अध्यादेश ल्याएर चुनाव सार्ने षड्यन्त्र गर्ने सम्भावना भएको भन्दै ओलीले त्यसो भएको अवस्थामा कडा आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए । ‘अहिले त कांग्रेस एमालेको कम्मरसम्म छ, ओलीले भने–‘यो लेखेर राख्नुहोस, चुनावमा कांग्रेस घुँडाभन्दा माथि पुग्दैन ।’

देउवा सरकारले संसद बन्द गरेर अधयादेश ल्याएको उनले बताए । ‘यो दलीय ब्यवस्था बिरुद्ध छ, ओलीले भने–‘सभामुख षड्यन्त्रकारीको मतियार भएका हुनाले हामीले संसदमा अवरोध गरेका हौं ।’ उनले नेकपा एमालेले सभामुख अग्नि सापकोटालाई सभामुख नमान्ने बताए । 

अहिलेको सरकार परमादेशबाट गठन भएको उनले दोहोर्याए । ‘जनादेशबाट एमाले बाहेक अर्काे पार्टीको सरकार बन्न सक्दैन, ओलीले भने–‘सरकारमा भएका बेला पुर्वाधार निर्माण गरिसकेको हुनाले अबको चुनावपछि हामीलाई सरकार गठनका लागि कसैको बैशाखी चाहिदैन ।’ कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने स्थानीय नेता कार्यकर्तालाई ओलीले स्वागत गरेका थिए ।