यासोक । पाँचथरको तुम्वेवा गाउँपालिका १ मा निर्माणधिन सव स्टेसनको काम कछुवाको गतिमा अघि बढेको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा ३३ केभिएको सव स्टेशनको काम कछुवा गतिमा अघि बढेको हो ।

नेपाल विद्युत प्राधिकरण सामुदायिक ग्रामिण विद्युतिकरण विभागले योजनाको काम गर्दै आएको छ । २०७६ जेठ ६ गते सम्झैता भएकाे सव स्टेशन  निवर्तमान भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङले २०७७ मंसिर ९ गते योजनाको शिलान्यास गरेका थिए ।

सरकारले १४ करोड ७ लाख १८ हजारमा वाइवा इन्फ्राटेक प्रालि काठमाण्डौंले ठेक्का दिएको थियो । ठेक्का पाएको निर्माण कम्पनीले दुई वर्ष भित्र योजना पूरा गर्ने गरी सम्झौता गरेको थियो । तर सम्झौता अवधि २०७८ सालको जेठमा सकिएको छ ।

कोभिड र निरन्तर वर्षा भएपछि काम ढिला भएको निर्माण कम्पनीका योजना प्रमुख खगेन्द्र बोहोराले बताए । सम्झौता अवधिमा पूरा नभएपछि पुनः ६ महिनाको म्याद थप गरिएको छ । थपिएको ६ महिना अवधि भित्रै पूरा गर्ने गरी काम भइरहेको बोहोरा बताउछन ।

“सव स्टेशनमा दुई वटा भवन र जिल्लाको थापा टारदेखि सव स्टेशनसम्मको ३३ केभिए विद्युत विस्तार गर्न पोलिङको काम अन्तिम चरणमा पुगेको छ । उनले भने, निर्माण स्थलसम्म उपकरण ढुवानी गर्न बर्षादको कारण समस्या छ । मौसममा सुधार हुन साथ योजनाले गति लिन्छ ।’

योजनाको हालसम्मको भौतिक प्रगति ५० र वित्तिय प्रगति ४५ प्रतिशत भएको छ । दक्ष जनशक्ति परिचालन गरी आगामी पुसमा योजना हस्तान्त्रण गर्ने निर्माण कम्पनीले बताएको छ । कोभिड र निरन्तरको बर्षादले उकपरण ढुवानीमा समस्या भएपछि अपेक्षाकृत काम हुन नसकेको बोहोेराले बताएका  छन । यता तुम्बेवा गाउँपालिकाले पनि योजनाको निरन्तर अनुगमन र निरिक्षण गर्दै आएको जनाएको छ ।

गाउँपालिका अध्यक्ष होमनाथ थापाका अनुसार सम्झौता अवधिमा योजना सम्पन्न नभएपछि थपिएको ६ महिना भित्र योजना पूरा गर्न मुस्किल पर्छ । योजनाले जुन गति लिनु पथ्र्यो, त्यो नलिएका कारण योजनालाई पूर्णता दिन ढिला हुने थापाको भनाइ छ ।  

सव स्टेशन निर्माणपछि जिल्लाको कुम्मायक, तुम्बेवा, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाका नागरिक लाभाम्बित हुनेछन । योजना निर्माणको लागि स्थानीय सहमान कार्कीले १६ लाख मुल्य बराबरको १० रोपनी जग्गा समेत निशुल्क दान गरेका थिए ।