भद्रपुर विगत १७ महिनादेखि बन्द रहेको भद्रपुर सीमा नाका खोल्न माग गर्दै झापाका उद्योगी व्यवसायीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र पठाएका छन् । 

काँकडभिट्टा नाका खोल्नुपर्ने भन्दै त्यस क्षेत्रका उद्योगी व्यवसायी, नागरिक समाज, राजनीतिक दलहरू लागिपरेको बेला भद्रपुरवासीले पनि चासो देखाउँदै ज्ञापन–पत्र बुझाएका हुन् । 

कोभिड–१९ को सङ्क्रमण शुरू भएदेखि नै बन्द रहेको भद्रपुर सीमा नाका खुला गर्नुपर्ने माग लिएर झापा उद्योग सङ्घको टोलीले बुधबार र झापा उद्योग वाणिज्य सङ्घले बिहीबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएका छन् ।

उद्योग सङ्घका अध्यक्ष यमबहादुर श्रेष्ठ र वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरु को नेतृत्वमा गएको टोलीले पत्र बुझाएका थिए ।

माग सम्बोधनका लागि यथाशीघ्र प्रधानमन्त्री कार्यालय पठाउने ज्ञापनपत्र बुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

ज्ञापनपत्रमा लामोे समयदेखि जारी नाकाबन्दीले भद्रपुर र यस आसपासको व्यापार व्यवसाय र उद्योगधन्दा ठप्प भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै नाका खोल्न माग गरिएको सङ्घ अध्यक्ष श्रेष्ठले बताए ।

नाकाबाट आवागमन सहज नभएमा दबावमूलक कार्यक्रम गर्न बाध्य हुने वाणिज्य सङ्घका अध्यक्ष पनेरुले बताए । वाणिज्य सङ्घले बुझाएको ज्ञापन–पत्रमा अर्थ र गृह मन्त्रालय, नेपाल  उद्योग वाणिज्य महासङ्घ, भद्रपुर नगरपालिका, क्षेत्र नम्बर ३ का सङ्घीय सांसद राजेन्द्रप्रसाद लिङ्देन, सोही क्षेत्रका प्रदेश सांसद वसन्तकुमार बानियाँ र ओमप्रकाश सरावगीलाई बोधार्थ दिइएको उल्लेख छ । 

काँकडभिट्टा नाका खोल्नुपर्ने भन्दै त्यस क्षेत्रका उद्योगी व्यवसायी, नागरिक समाज, राजनीतिक दलहरूले प्रमुख जिल्ला अधिकारीमार्फत् केही दिनअघि केन्द्रमा ज्ञापन–पत्र पठाइसकेका छन् । 

नेपाल सरकारको मन्त्रिपरिषद्बाट निर्णय गराएर काँकडभिट्टा नाका खोल्ने सहजीकरण भइरहेको तिमिल्सिनाले बताए । भद्रपुर नाका खोल्नुपर्ने माग आएकाले सो विषय केन्द्रमा पठाइएको प्रजिअ तिमिल्सिनाको भनाइ छ । सरकारले काँकडभिट्टासहित देशका ८ वटा सीमा नाका खोल्न अनुमति दिएको छ ।