सङ्खुवासभामा रहेको अरुण तेस्रो जलविद्युत् परियोजनाका लागि खोटाङमा जग्गा अधिग्रहणको काम सुरु गरिएको छ ।
नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत्को प्रसारणलाइनले ओगट्ने दुई गाउँपालिकाभित्रको जग्गा अधिग्रहण गर्न कित्ता नम्बर, क्षेत्रफल, जग्गाधनीको नामलगायतका विवरण सङ्कलन सुरु गरिएको हो ।
सङ्खुवासभाबाट भोजपुर हुँदै खोटाङको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट उदयपुरको ढल्केबरमा अरुण तेस्रोको प्रसारणलाइन जोडिने आयोजनाका साइडअफिस को–अर्डिनेटर प्रवीण यादवले बताए । विसं २०७२ मा गरिएको गुगल परीक्षणका क्रममा साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ३०/४० घरका एक सय ३८ कित्ता जग्गा अधिग्रहण गर्ने निश्चित गरिएको छ ।
प्रसारणलाइनको रुट निश्चित गरेसँगै त्यो बेला रुटमा पर्ने जग्गा अधिग्रहणका लागि रोक्का गरिएको थियो तर, हाल पहिरो, खोलाखोल्सी, मानव बस्ती, पहरालगायतका प्राकृतिक अवरोधलाई छल्न जलविद्युत् आयोजनाको रुट सामान्य परिवर्तन भएपछि अधिग्रहण हुने जग्गाको पुनः यकिन गर्न सुरु गरिएको यादवले बताए ।
आयोजनाको रुट परिवर्तन भएसँगै दुई वर्षदेखि रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरिसकिएको छ । जिल्ला मालपोत कार्यालयसँगको समन्वयमा आयोजनाको प्रसारणलाइनले ओगट्ने जग्गा छुट्याउने र मुआब्जा दिलाउने प्रक्रिया सुरु हुने आयोजनाले जनाएको छ ।
अरुण तेस्रो जलविद्युत् आयोजना प्रसारणलाइनअन्तर्गत खोटाङका दुई गाउँपालिकामा ७९ खम्बा राखिने जनाइएको छ । पहिले राखिएका खम्बा पुनः अर्को ठाउँ सार्न नमिल्ने भएकाले अनिवार्य जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था आएको हो ।
यस्तै राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत पर्ने दूधकोशी जलशाययुक्त जलविद्युत् आयोजनाका लागि पनि आवश्यक जग्गा व्यवस्था गर्न अधिग्रहण सुरु गरिएको छ । खोटाङको रावाबेँसी–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी–६ भदौरेको सिमानामा पर्ने दूधकोशी नदीस्थित रभुँवाघाटबाट छ सय ३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाका लागि पाँच हजार आठ सय २६ कित्ता जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।
दूधकोशी जलविद्युत् आयोजनका उपनिर्देशक सीताराम तखाछेका अनुसार अधिग्रहणका लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ । आयोजनाका लागि खोटाङमा करिब १३ हजार रोपनी जग्गा आवश्यक पर्नेछ ।
यसमध्ये एक हजार रोपनी सरकारी र १२ हजार रोपनी व्यक्तिका नाममा छ । व्यक्तिगत जग्गा आयोजनाका नाममा ल्याउने प्रक्रिया अघि बढी सकेको छ । ओखलढुङ्गाको सात हजार रोपनी र सोलुखुम्बुको पाँच सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । ओखलढुङ्गा र सोलुखुम्बुको जग्गाको भने स्रेस्ता उतार्ने काम भइरहेको तखाछेले जानकारी दिए ।
आयोजनाले समुद्री सतहदेखि छ सय ४० मिटरसम्मको जग्गा डुबानमा पार्ने भएकाले छ सय ५० मिटरसम्मको जग्गा अधिग्रहणको प्रक्रियामा लगिएको तखाछेले सुनाए । खोटाङको जग्गा जति सक्दो छिटो अधिग्रहणको काम सक्ने योजना बनाइएको जग्गा अधिग्रहण मूल्याङ्न समितिका संयोजक एवं खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए ।
असोज–कात्तिकसम्ममा मुआब्जाको काम सक्ने योजना बनाइएको शर्माको भनाइ छ । मुआब्जादेखि अन्य विभिन्न कामका लागि यस वर्ष करिब आठ करोड रूपैयाँभन्दा बढी खर्च हुने जनाइएको छ । आयोजना सञ्चालनका लागि करिब एक खर्ब ६० अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।
दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि एसियाली विकास बैंक (एडिबी)ले आर्थिक लगानी गर्ने जनाएको छ । दूधकोशी आयोजनाका कारण डुबानमा पर्ने रावाबेँसी–१ लामीडाँडास्थित रभुँवा माझीगाउँका समुदायले नदी र जङ्गल आसपासमै पुनःस्थापित गर्नुपर्ने बताएका छन् । जन्मदेखि मृत्युसम्मको सांस्कृतिक परम्परा नदीसँगै सम्बन्धित भएकाले नदी र जङ्गल आसपासमै पुनःस्थापित गर्नुपर्ने उनीहरुको माग छ ।
- रासस