झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ । 

गत आर्थिक वर्षमा ३५ अर्बभन्दा बढी व्यापार घाटा व्यहोर्नु परेको भन्सार कार्यालयले जनाएको छ । सो नाकाबाट गत आर्थिक वर्ष २०७७–०७८ मा ३५ अर्ब ८५ करोड रुपैयाँ व्यापार घाटा भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिए । 

उनका अनुसार यो नाकाबाट गत आवमा ४८ अर्ब ५ करोड रुपैयाँको वस्तु आयात भएको छ भने १२ अर्ब ६५ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । काँकरभिट्टा नाकाबाट गत आवमा आयात–निर्यात दुवैतर्फ बढोत्तरी भएको छ । 

आव ०७६–७७ को तुलनामा आव ०७७÷७८ मा ९ अर्ब ६५ करोड रुपैयाँले आयात बढेको छ भने निर्यात तर्फसमेत  ४ अर्ब बढेको छ । काँकरभिट्टा नाकाबाट भारत, बङ्गलादेश र भुटानसँगको व्यापार घाटा उच्च रहेको प्रमुख विश्वकर्माले बताए ।