धरान । धरानको मुटु भानुचौकस्थित तमु कम्प्लेक्समा ‘डिजाइन इन्सिच्युसन अफ फेसन टेक्नोलोजी’ खुलेको छ । 

फेसन डिजाइनमा काम गर्दै आएकी मनिषा राईले टेक्नोलोजी सुरुवात गरेकी हुन् । उनका अनुसार १५ लाख रुपैयाँको लागतमा फेसन डिजाइनसम्बन्धी तालिम दिने उद्देश्यले सुरु गरिएको हो । इन्सिच्युसनको उद्घाटन धरान उपमहानगरका प्रमुख तिलक राईले गरे । प्रमुख राईले उमेर, लिङ्ग र वर्गअनुसारको पोसाक लगाउनुु नै फेसन भएको बताए । राईले भने ‘फेसन भन्दैमा विकृति फैलाउने कार्य गर्नु हुँदैन, समाजले रुचाउने, हिँड्दा सहज हुने पहिरन र पहिचानसहितको पोसाक नै फेसन हो ।’ 

मनिषा विगत १० वर्षदेखि फेसन डिजाइनमा काम गर्दै आएकी छन् । सीटीइभीटी मान्यता प्राप्त संस्थाबाट उनले फेसन डिजाइनमा तेस्रो तह उत्तीर्ण गरेकी छन् । इन्सिच्युसनका सहसञ्चालक देवीन राईले धरान फेसेनेवल सहर भए पनि यस्ता इन्सिच्युट नभएकाले आफूहरूले आवश्यकता महसुस गरी खोलेको बताए । उनका अनुसार तालिमसँगै विभिन्न फेसनसँग सम्बन्धित कपडाहरू पनि पाइन्छ । 

fashion_pic_one copy

मनिषाका अनुसार महिला तथा पुरुषलाई नै फेसन डिजाइनसम्बन्धी तालिम प्रदान गर्ने साथै सीटीइभीटीले सञ्चालन गर्ने सबै तहका तालिम पनि दिनेछ । फिल्म तथा म्युजिक भिडियोका लागि पोसाक समेत तयार गर्ने जनाइन् । मनिषाले यसअगि युनिसा कटिङ सेन्टर पनि सञ्चालन गर्दै आएकी थिइन् । कार्यक्रममा धरान–१८ का वडाध्यक्ष प्रवीण राईलगायतको उपस्थिति रहेको थियो ।