धरान । अटो मोबाइलको क्षेत्रमा व्यवसाय विस्तार गरेको कुमार एण्ड सन्स ग्रुपले ‘गोर्खा ब्राण्डको घडी’ बिक्री प्रारम्भ गरेको छ । 

धरान–१० पुतलीलाइनमा कुमार एण्ड सन्स इम्पोरियमअन्तर्गत गोर्खा ब्राण्डको घडी सोमबारबाट बिक्री प्रारम्भ गरेको हो । सञ्चालक सुमनकुमार श्रेष्ठका अनुसार ५० लाख रुपैयाँको लगानीमा गोर्खा ब्राण्डको घडीको शाखा सञ्चालनमा ल्याएको हो । 

यो घडी सन् २०१५ मा बेलायतबाट निर्माण सुरु भएको हो । गोर्खाली नेपालीको त्याग र साहसलाई सम्मान गर्दै बेलायतको एउटा कम्पनीले ‘गोर्खा घडी’ उत्पादन थालेको थियो । सोही घडी धरानमा विस्तार गर्ने उद्देश्यका साथ शाखा शोरुम खोलिएको हो । 

लाहुरेको सहर धरानमा गोर्खा घडीको माग हुन सक्ने सञ्चालक श्रेष्ठले बताए । इम्पोरियमको धरान उपमहानगरका प्रमुख तिलक राई र नायक एवम् गोर्खा घडीका सद्भावना दूत सुशील श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे । सद्भावना दूत श्रेष्ठले घडीको विशेषताबारे आफूले भन्नुभन्दा पनि गोर्खाको ब्राण्ड नै काफी भएको बताए । 

उनले नेपाललाई सगरमाथाको देश, बुद्धको देश र गोर्खाको देश भनेर तीनवटा कुराले चिनेको बताए । बालबालिका, पुरुष, महिलालाई समेत हुने डिजिटल, स्मार्ट र एनालग घडीहरू उपलब्ध रहेको जनाइएको छ । त्यस्तै गोर्खा ब्राण्डको छालाका सामग्री, चस्मा, भित्तेघडी, झोला, ब्राण्डेड कपडा, टाइपिन, कफ्लिङ्क र कलाकृतिसमेत पाइने जनाइएको छ । साथै गोर्खा ब्राण्डकै खुकुरीका सामग्री पनि पाइने जनाइएको छ ।