धरान । नेकपा (एमाले) भदौको अन्तिम साता विधान महाधिवेशन गर्ने भएको छ । 

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलमा आइतबार सम्पन्न बैठकले भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको हो । बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा र सङ्गठनात्मक प्रस्तावको मस्यौदा तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

त्यस्तै सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । उक्त प्रस्तावलाई अन्तिम रूप दिन त्यस्तै अन्य निर्णय गर्नका लागि आगामी साता केन्द्रीय कमिटीको बैठक गरिने भएको छ ।

बैठकले आगामी असोजको पहिलो हप्ता देशका सबै वडाहरुमा वडा अधिवेशन र दोस्रो हप्ता सबै पालिकाहरुमा पालिकास्तरमा पार्टी अधिवेशन गर्ने निर्णय गरेको छ ।

बैठकले हालै दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिंदो भेलमा बेपत्ता पार्ने गरी घटित अमानवीय र क्रूर घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न, त्यस विषयमा भारतीय पक्षसँग जानकारी माग गर्न, दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।