गत आर्थिक वर्ष २०७६/०७७ मा पुरानाभन्दा नयाँ जीवन बिमा कम्पनीको विस्तार राम्रो देखिएको छ । दशकभन्दा अगाडिदेखि बिमा व्यवासाय गर्दै आएका पुराना जीवन बिमा कम्पनीलाई पछि पार्दै नयाँ जीवन बिमा कम्पनी अगाडि बढ्दै गरेका छन् ।

गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीको कुल बिमा शुल्क २८.१५ प्रतिशतले बढेको छ । जसमध्ये बिमा शुल्क बढाउनेमा पुरानाभन्दा पछिल्लोपटक थपिएका १० वटा नयाँ जीवन बिमा कम्पनी अगाडि छन् । 

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा ९४ अर्ब ३८ करोड कुल बिमा शुल्क आर्जन गरेको बिमा कम्पनीहरूले गत आर्थिक वर्षमा १ खर्ब २० अर्ब ९५ करोड बिमा शुल्क आर्जन गरेको बिमा समितिले जनाएको छ । 

गत आर्थिक वर्षमा १९ वटा जीवन बिमा कम्पनीले ४१ अर्ब ९७ करोड प्रथम बिमा शुल्क आर्जन गर्दा ७८ अर्ब ३५ करोड नवीकरण बिमाशुल्क आर्जन गरेको बिमा समितिले जनाएको छ । जबकि अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ४८ करोड प्रथम बिमा शुल्क र ५७ अर्ब ९७ करोड नवीकरण बिमा शुल्क आर्जन गरेका थिए । 

यस्तै कोभिडको कारण वैदेशिक रोजगारी प्रभावित हुँदा वैदेशिक रोजगार बिमा शुल्क भने प्रभावित भएको छ । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९३ करोड वैदेशिक रोजगार बिमाशुल्क आर्जन भएकामा गत आर्थिक वर्षमा ६३ करोड मात्रै बिमा शुल्क आर्जन भएको समितिले उपलब्ध गराएको तथ्याङ्कले देखाउँछ । 

गत आर्थिक वर्षमा कुल बिमा शुल्कमा वृद्धि भएपनि लिडिङ दुई बिमा कम्पनी नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालसहित पूर्ण सरकारी स्वामित्वको  राष्ट्रिय बिमा संस्थानको प्रथम बिमा शुल्क घटेको छ । बिमा बजारमा थप १० बिमा कम्पनीको प्रवेशसँगै बिमा क्षेत्रमा प्रतिस्पर्धा तीव्र रूपमा बढेको छ । जसले गर्दा पुराना जीवन बिमाहरूलाई बजारमा आफ्नो स्थान सुरक्षित राख्ने चुनौती बढेको देखिन्छ । 

अघिल्लो आर्थिक वर्षमा ९२ करोड प्रथम बिमा शुल्क आर्जन गरेको राष्ट्रिय बिमा संस्थानले गत आर्थिक वर्षमा ७६ करोडमात्रै प्रथम बिमाशुल्क आर्जन गर्न सफल भएको छ । यस्तै नम्बर एक बिमा कम्पनीको पनि गत आर्थिक वर्षमा प्रथम बिमा शुल्क घटेको छ । 

अघिल्लो आर्थिक वर्षमा १० अर्ब १६ करोड प्रथम बिमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा ८ अर्ब ८२ करोड मात्रै प्रथम बिमाशुल्क आर्जन गरेको छ । लाइफ इन्स्योरेनस कर्पोरेसन नेपालको पनि प्रथम बिमा शुल्कमा संकुचन आएको छ । 

अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १६ करोड प्रथम बिमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब ५६ करोड मात्रै बिमा शुल्क आर्जन गरेको छ । 

पुराना कम्पनीलाई चुनौती दिँदै नयाँ कम्पनीको एग्रेसिभ मुभ 

गत आर्थिक वर्षमा बिमा शुल्क आर्जनको तथ्याङ्क हेर्दा ३ वर्ष अगाडि मात्रै बिमाको कारोबार सुरु गरेको नयाँ बिमा कम्पनीले पुराना बिमा कम्पनीलाई व्यवसायमा चुनौती दिइरहेका छन् । 

नयाँ जीवन बिमा कम्पनीको रूपमा आएको युनियन लाइफले प्रथम बिमा शुल्क आर्जनमा चौथो स्थानमा पुगेको छ भने कुल बिमा शुल्क आर्जनमा कम्पनी ५ औँ स्थानमा पुगेको छ । 

कम्पनीले गत आर्थिक वर्षमा ३ अर्ब १८ करोड प्रथम बिमा शुल्कसहित कुल ६ अर्ब  ७७ करोड बिमाशुल्क आर्जन गरेको छ । 

कम्पनीले नेशनल लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाललाईबोहक सबै कम्पनीलाई प्रथम बिमा शुल्कमा पछाडि पारेको छ । यस्तै कुल बिमा शुल्कमा पनि यी ३ सहित राष्ट्रिय बिमा संस्थानबाहेक सबैलाई पछि पारेको हो । 

प्रथम बिमा शुल्क आर्जनमा नयाँ आएका कम्पनीहरूमा रिलायबल नेपाल लाइफ र सिटिजन लाइफले पुराना कम्पनीहररू सूर्या, गुराँस, प्राइम र मेट लाइफसहित राष्ट्रिय बिमा संस्थानलाई पनि पछि पारेका छन् । 

नयाँ बिमा कम्पनीहरू बजारमा स्थापित भएर तीव्र प्रतिस्पर्धा हुन थालेपछि पुराना बिमा कम्पनीलाई भने चुनौती बन्दै गएको छ । 

गत आर्थिक वर्षमा सानिमा लाइफ इन्स्योरेनसले सबैभन्दा धेरै १३७ प्रतिशतले व्यवसाय बढाउँदा सन् नेपाल लाइफले १०० प्रतिशत र आईएमई लाइफको बिमा शुल्क ९९ प्रतिशतले बढेको छ । 

त्यस्तै  रिलायन्स, रिलायबल नेपाल र सिटजिन्सको बिमा शुल्क क्रमशः ८३, ८७ र ८३ प्रतिशतले बढेको छ । 

ज्योति लाइफको ६४ प्रतिशत र युनियन लाइफको ४१ प्रतिशतले बिमा शुल्क बढ्दा प्रभु लाइफको २३ र महालक्ष्मी लाइफको बिमा शुल्क २२ प्रतिशतले बढेको छ ।

पुराना बिमा कम्पनीतर्फ गुराँस लाइफ र नेशनल लाइफ, सूर्या लाइफहरू एगे्रसिभ व्यवासाय विस्तारमा लागेको देखिन्छ । 

गुराँस लाइफको बिमा शुल्क  ६८ प्रतिशतले वृद्धि हुँदा सूर्या लाइफको ३३ प्रतिशत, नेशनलको ३२ र एशियन लाइफको ३० प्रतिशतले बढेको छ । 

प्रथम बिमा शुल्क आर्जनमा नेशनल लाइफ लाइफ इन्स्योरेन्स कर्पोरेसनलाई पछि पार्दै दोस्रो स्थानमा पुगेको छ । कम्पनीले ४ अर्ब ३ करोड प्रथम बिमा शुल्क आर्जन गरेको छ ।  

beema