मैलुङखोला जलविद्युत् कम्पनीले यही साउन १४ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले गएको असार २३ मा कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता साधारण सेयर बिक्री गर्न अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानीयलाई यसअघि नै सार्वजनिक निष्कासन गरिसकेको कम्पनीले कुल निष्कासनमध्ये १४ हजार ७२६ कित्ता कर्मचारी र ३६ हजार ८१४ कित्ता सामूहिक लगानी कोषको लागि छुट्ट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सर्वसाधारणको लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्ता अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । उक्त सार्वजनिक निष्कासनमा  छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिने सकिनेछ ।

आवेदकले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनको लागि कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा नगरेको वा छिट्टै पूरा गर्न नसक्ने जनाउँछ ।