प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

पदाधिकारी बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूबारे छलफल गर्ने तयारी छ । कांग्रेसबाट बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्कीलाई मन्त्री बनाए पनि बाँकी मन्त्रीमा क–कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ । 

दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । हिजो बस्ने भनिएको बैठक आज बस्न लागेको हो ।

कांग्रेसले भदौ १६–१९ गतेसम्म महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

मन्त्री बन्ने आकांक्षीहरु धेरै भएपछि नाम टुङ्गो लगाउन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई कठिन हुने देखिएको छ । देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफलबाटै क–कसलाई मन्त्री बनाउने टुंगो लगाउने बचन दिएका थिए । 

मन्त्री चयन, महाधिवेशनलगायत विषयमा बैठक केन्द्रित हुने भएको छ । 

सबै पक्षलाई समेटेर मन्त्री बनाउनु पर्ने भएकाले यसमा सबैलाई चित्त बुझाएर निष्कर्षमा पुग्न उनलाई सहज छैन ।

यस्तै पदाधिकारी बैठकमा पार्टीको आशन्न १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणमा देखिएका विवादबारे छलफल गर्ने कार्यसूचि रहेको छ ।