पूर्वप्रधानमन्त्री एवम् जनता समाज पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धीकरण अभियानप्रति ऐक्यबद्धता जनाएका छन् ।

प्रतिष्ठानलाई राजनीतिक हस्तक्षेपमुक्त राख्दै प्राज्ञिक मर्यादा कायम गर्नुपर्ने मागसहित प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा नागरिक अगुवाहरू समेतले ‘प्रतिष्ठान शुद्धीकरण अभियान’ शुरु गरेका छन् । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले प्रतिष्ठानसँग सम्बन्धित व्यक्तिहरू तथा नागरिक अगुवाहरूलाई गिरफ्तार समेत गरेको थियो । यो गिरफ्तारीले निवर्तमान सरकारको गैरजिम्मेवारपन अझ उदाङ्गएिको डा. भट्टराईले टिप्पणी गरेका छन् ।

नेपालकै सबैभन्दा ठूलो र चिकित्सा क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय साख राख्न सफल यो प्रतिष्ठान, सरकारको र सत्तारुढ पार्टीको अनावश्यक हस्तक्षेप र असक्षम पदाधिकारीहरूको नियुक्तिको कारण दिनानुदिन अधोगतितिर जानु समग्र राष्ट्रकै लागि दुःखद भएको भट्टराईको भनाइ छ । ‘विश्वविद्यालयहरू, प्रतिष्ठानहरू तथा अन्य प्राज्ञिक क्षेत्रमा हुने प्रत्येक नियुक्तिहरू स्थापित मापदण्डका अनुरुप तथा कार्यक्षेत्र र कार्यप्रकृतिको मर्यादा कायम गर्ने हैसियतका हुनुपर्छ भन्ने हाम्रो सदैव अडान रहेको छ,’ भट्टराईले जारी गरेको सार्वजनिक अपिलमा लेखिएको छ, ‘यसअनुरूपको नेतृत्वले मात्र संस्थालाई सही दिशामा हाँक्न सक्दछ भन्ने हाम्रो विश्वास छ ।’

‘निवर्तमान सरकारले जारी अभियानलाई चिकित्सा शिक्षा क्षेत्रको विकृति र विसंगतिको अन्त्य गर्ने अवसरको रूपमा सम्बोधन गर्नुपर्नेमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका प्रतिष्ठानसँग सम्बन्धित व्यक्तिहरू तथा नागरिक अगुवाहरूको गिरफ्तारीले निवर्तमान सरकारको गैरजिम्मेवारपन अझ उदाङ्गएिको छ,’ उनले लेखेका छन् । 

साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल वार्ताको माध्यमद्वारा जायज मागहरूको सम्बोधन गर्न आह्वान गरेका छन् । बिहीबार सार्वजनिक अपिल जारी गर्दै भट्टराईले उक्त आह्वान गरेका हुन् ।

‘जारी अभियानप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकार र विशेष गरी प्रधानमन्त्री समक्ष तत्काल वार्ताको माध्यमद्वारा जायज मागहरूको सम्बोधन गर्न आह्वान गर्दछु,’ भट्टराईले भनेका छन् ।