नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूहरु साथमै रहेकाले जनतालाई आशा जगाउने काम जारी राख्न सुझाव दिएका छन् ।
उनले आफूहरुले रिटमा नै पूर्ण संसदका लागि माग गरेको भन्दै विश्वासको मत दिने कि नदिने भन्ने त्यसमै उल्लेख गरिएको बताए ।
उनले आफूहरुले देउवालाई विश्वासको मत दिन तयार रहेको संकेत पनि गरे ।
‘रिटमा जे माग गरेका छौँ त्यो पूरा भएको छैन । यो संसदलाई पूरा कार्यकाल चल्न दिन वैकल्पिक सरकार खोजेको हो’, उनले भने, ‘त्यसका लागि गठबन्धन जन्मिएको हो । गठबन्धनले संसद्को पूर्ण आयुका लागि काम गर्नेछ ।’
नेपाललाई भेट्न प्रधानमन्त्री देउवा नेपाल निवास कोटेश्वर पुगेका थिए ।
‘पहिलो निर्णय सही छ । जनता निराश छन्,आशा जगाउने हो । चिन्ताले नछोड्नुस्,’ नेपालको भनाइ उद्धृत गर्दै कांग्रेस नेता पूर्णबहादुर खड्काले भने ।
नेकपा एमालेका सांसद विरोध खतिवडाले भने दुई नेताबीच राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए ।