निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोटसम्म पुर्याउन कार्यकर्ताले स्कर्टिङ गर्ने भएपछि काठमाडौंको ट्राफिक व्यवस्थापन निकै सकस बन्ने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले जुलुसलाई मध्यनजर गरी काठमाडौंका सडकमा ट्राफिक प्रहरीको संख्या बढाएको छ ।

जुलुस बालुवाटारबाट रत्नपार्क, माइतीघर, बानेश्वर हुँदै कौशलटार पुग्ने भनिएको छ ।

युवा संघका इञ्चार्ज महेश बस्नेतको नेतृत्वमा स्कर्टिङ गरी ओलीलाई कौशलटारबाट नागरिक अभिनन्दनसहित निवास पुर्याउने योजना छ ।

उनका अनुसार चार जना प्रहरी नायब उपरीक्षक र १२ जना प्रहरी निरीक्षकको नेतृत्वमा सडकमा सुरक्षा तैनाथी मिलाइएको छ ।

अहिलेसम्म बालुवाटारबाट प्रधानमन्त्री निस्केका छैनन् र युवा संघले भनेजस्तो संख्यामा सवारीसाधन पनि छैनन् ।  

ओलीलाई बालुवाटार छोडेर बालकोटस्थित निवास फर्किँदा कार्यकर्ताले तीन हजार मोटरसाइकल र दुई हजार गाडीले स्कर्टिङ गर्ने दाबी गरिएको छ ।

‘भरसक जाम कम होस् भनेर हामीले ट्राफिक व्यवस्थापन मिलाएका छौं,’ महाशाखा प्रवक्ता एसपी सञ्जीव शर्मा दासले भने ।