नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन् ।
बिहान सुरूमा श्रेष्ठ कोटेश्वर पुगेका थिए भने केही समयपछि गौतम पुगेका थिए ।
गौतमसँग भने नेपालले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीभित्रका विवाद समाधान गर्ने विषयमा कुराकानी गरेका थिए ।
नेपालले दुबै जनासँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।
यसअघि गौतमले नेता नेपालले एमाले पार्टी फुटाए आफूले सहयोग गर्ने बताएका थिए । पछिल्लो समय उनी अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा पनि सहभागी भएका थिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको अर्को दिन बुधबार बिहान श्रेष्ठ र गौतम नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन् ।
स्रोतका अनुसार नेपाल र श्रेष्ठबीच गठबन्धनबारे छलफल भएको थियो ।अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरूले आन्तरिक विवाद मिलाउन १० बुँदे प्रस्ताव तयार पारेका थिए । तर उक्त प्रस्ताव स्थायी कमिटीबाट अनुमोदन भइसकेको छैन ।
यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक राखे पनि पटकपटक स्थगित गरिरहेको छ ।