विराटनगर/ प्रदेश–१ प्रदेशसभाको बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ । आइतबार बसेको १६औं प्रदेशसभा बैठक माओवादी केन्द्रले अवरुद्ध गरेको हो । माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

जारी अधिवेशनको १३ वटा बैठकमा प्रतिपक्षीले अवरोध गरेका थिएनन् । तर मन्त्रीको अभिव्यक्तिपछि लगातार तीनवटा बैठक अवरुद्ध हुँदा बजेटमाथिको छलफल लम्बिएको छ ।

संसद अवरुद्ध भएपछि असार १५ गते सभामुख प्रदिपकुमार भण्डारीले छलफलका लागि भन्दै पाँच दिनका लागि बैठक सारेका थिए । तर यो पाँच दिनमा दुई पटक छलफल भए पनि सहमति भएन ।

छलफलमा सत्ता पक्ष माफी माग्न र अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन नमानेपछि बैठक अवरुद्ध गरेको माओवादी केन्द्र नेता आङ्बोले बताए ।

बजेटमाथिको छलफल चलिरहेको प्रदेशसभा बैठकमा गत आइतबार प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङ गृह जिल्ला ओखलढुङ्गाका माओवादी केन्द्रका सांसद मोहन खड्कामाथि व्यक्तिगत रुपमा खनिएका थिए ।

मन्त्रीले माफी मागेपछि मात्रै संसदको कामकारवाही अघि बढ्ने आङ्बोले बताए । आइतबार संसद अवरुद्ध भएपछि मुख्यमन्त्री शेरधन राईले सर्वपक्षीय छलफल गरेका थिए । छलफलमा कुनै निष्कर्ष ननिस्किएको आङ्बोले बताए ।

संसदीय मान्यता विपरित सांसदमाथि खदिएका मन्त्रीले माफी माग्नुपर्ने र उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनु पर्ने माग छ । तर सत्ता पक्ष तयार नहुँदा संसदमा अवरोध कायम रहेको माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

‘हामी प्रतिपक्ष दलहरुले आफ्ना कुरा राख्यौं, उनले मन्त्रीको अभिव्यक्ती गलत भएपनि संरक्षण गर्नुभयो,’ उनले भने,‘ भोलि पनि छलफल गर्ने समय छ, माफी नमागेसम्म बैठक अवरुद्ध हुन्छ ।’

गत आइतबार २१ मिनेट प्रदेशसभामा बोलेका मन्त्री गुरुङले सम्बोधनको ११ मिनेट खड्काको आलोचनामा खर्चिएका थिए ।