नेकपा एमालेका नेता योगेश भट्टराईले फेरि पनि अदालतले प्रतिनिधि सभा पुनः स्थापना गर्ने बताएका छन् ।
गृहजिल्ला ताप्लेजुङ पुगेका भट्टराईले पत्रकार महांसघ ताप्लेजुङले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पाँच वर्षको अवधिमा दुईपटक विघटन भएर दोस्रो पटक पनि पुनःस्थापना हुने दावी गरे ।
‘वर्तमान प्रतिनिधिसभाको पाँच वर्षे अवधि रोचक ढंगले जाँदैछ, घटनाहरु दुःखदायी छन्, तर देख्दा रोचक छ,’ उनले भने, ‘एउटै कार्यकालमा दुई पटक प्रतिनिधिसभाको विघटन सायद यो वल्र्ड रेकर्ड हुन्छ होला, र अर्को पनि वल्र्ड रेकर्ड हुन्छ होला दुवैपटक प्रतिनिधिसभाको पुनःस्थापना अदालतले गर्छ ।’
नेकपा एमालेका सचिव समेत रहेका भट्टराईले अध्यक्ष केपी ओली र नेता माधव नेपाल दुवैले एकपक्षीय निर्णयलाई खारेज गरेर एकताको बाटो सहज बनाउनुपर्ने बताए ।
‘दुबै जनाको तर्फबाट कार्यदल तयार भएका छन्, ती कार्यदललाई ब्यूँताएर जेठ २ गते अघिको अवस्थामा फकर्नु आवश्यक छ ।’ उनले भने ‘अन्य विषयहरु मिल्दै जान्छन् ।’ उनले विपक्षी दलको नेतालाई सहयोग गर्नुको एउटै मात्र उद्देश्य प्रतिनिधीसभा बचाउनको लागि भएको बताए ।
‘संसदीय व्यवस्थाको चरित्रको हिसाबले त्यो गल्ति हो, त्यो गर्नु हुँदैन, त्यो राम्रो कुरा होइन तर कुनै घटना घट्दा त्यसको कारण बुझ्नुपर्छ ।’ उनले भने ‘यदि दुवै पक्षले गरेका एकपक्षीय निर्णयहरु खारेज गरेर जेठ २ को अवस्थामा फर्कनुपर्छ, मिल्नुको विकल्प छैन ।’
उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि नभए पनि एमाले एकठाउँमा उभिनुपर्ने बताए । ‘प्रतिनिधिसभा पुनःस्थापना भए पनि एमाले एकैठाउँमा बस्नुपर्छ, नभए पनि एकैठाउँमा उभिएर चुनावमा जानुपर्छ ।’ उनले भने । सो अवसरमा भट्टराईले पत्रकार महासंघ ताप्लेजुङ शाखालाई नगद एक लाख रुपैयाँ सहयोग पनि प्रदान गरेका थिए ।