विराटनगर/मनपरी तरिकाले नेपाली काँग्रेस मोरङको क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ४ क्रियाशिल सदस्य बितरण गरेको विरोधमा तालाबन्दी गरेको छ । 

काँग्रेसको भात्री संगठन नेपाल विद्यार्थी संघ पुसेट विराटनगर र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरले  काँग्रेसको क्षेत्रिय कार्यालय तालाबन्दी गरेको हो । 

काँग्रेसको क्षेत्रिय कार्यालयले तानासाही ढंगले क्रियासिल सदस्यहरुले पाउनुपर्ने व्यक्तिले नपाएर आफ्नो नजिकको व्यक्तिलाई क्रियासिल सदस्य दिएको भन्दै उनीहरुले विराटनगर ४ मा रहेको कार्यालयमा तालाबन्दी गरेको विद्यार्थी नेता योगराज दाहालले जानकारी दिए ।

‘बुथबाट सिफारिस गरि पठाएका नामावालीहरुलाई पाखा लगाइ मनोमानी ढंगले क्रियाशिल सदस्य वितरणको घटना खेद व्यक्त गर्न चाहन्छौं,’ नेपाल विद्यार्थी संघ पुसेटका सभापति पाश्चर घिमिरे र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ्गका सभापति मिलन श्रेष्ठले हस्ताक्षर गरेको विज्ञाप्तीमा उल्लेख छ । 

उनीहरूले कार्यालयमा तलाबन्दी गरेपछि क्षेत्रिय कार्यालयले क्रियाशिल सदस्य वितरणको विषयमा छानविनको लागि काँग्रेसको केन्द्रीय कृयाशिल सदस्यता छानविन समिति, काँग्रेसको केन्द्रीय कार्यसमिति  र काँग्रेसको मोरङ जिल्लामा पनि बोद्धार्थ पठाएका छन् ।