सिरहा । जिल्लास्थित डीसीसीएमसीको बैठकले सिरहामा थप १५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । 

सोमबारको बैठकले जेठ ३१ गते रातिबाट लागू हुने गरी असार १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपेको हो । निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायत बन्द रहने जनाइएको छ ।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनभने सञ्चालन गर्न पाइने प्रमुख जिल्ला अधिकारी प्रदीपराज कर्णेलले जानकारी दिए ।

खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्यास पसल बिहान ५ बजेदेखि १ बजेसम्म खोल्न पाइने स्थानीय प्रशासनले जनाएको छ । निर्माण सामाग्री भण्डारण गर्नेबाहेक बिहान ९ बजेदेखि १ बजेसम्म खोल्न पाइने भएको छ । 

होटल व्यवसाय भने अनलाइन वा फोनबाट बुकिङ गरी होम डेलिभरी बिहान ९ बजेदेखि दिउँसो १ बजे र बेलुकी ६ बजेदेख ८ बजेसम्म सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ । 

कोभिडको दोस्रो लहर सुरु भएदेखि हालसम्म सिरहामा एक हजार ४ सय ४० जनामा संक्रमण देखिएको छ । जसमध्ये ९ सय ३४ जना निको भइसकेका छन् भने ९५ जनाको मृत्यु भएको छ । संक्रमणको संख्या निरन्तर कमी आए पनि संक्रमण जोखिम अझै रहेकाले निषेधाज्ञा जारी गरिएको प्रजिअ कर्णेलले बताए ।