विराटनगर/प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएपछि प्रदेशको नामको टुङ्गो लगाउने प्रस्ताव गरेका छन् ।
प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले चालु बजेट अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउन प्रस्ताव गरेका हुन् । प्रदेशको नाम टुङ्गो लगाउन नसकेको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको छ ।
‘प्रदेशको नामाङ्कन यस अधिवेशनबाटै हामीले टुङ्याउनुपर्छ, मेरो प्रस्ताव छ यो नीति कार्यक्रम र बजेट पास भएको भोलिपल्टबाट छलफल गर्नुपर्छ,’ उनले भने, ‘कोरोना महामारी बढ्यो भने कुन–कुन प्रकारको सतर्कता अपनाउनुपर्ने हो, सावधानी अपनाउनुपर्ने हो, त्यो सावधानी अपनाएर प्रदेशको नामाकरण गरेर मात्रै बजेट अधिवेशन अन्त्य हुनुपर्छ ।’
मुख्यमन्त्री राईले ढुङ्गा गिट्टी निकासीको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराएको बताए । केन्द्रको नीतिले चुरे संरक्षणमा असर नपर्ने बताउँदै उनले चुरे संरक्षणका लागि संघीय सरकारको ध्यानाकर्षण गराइएको बताए ।
यादवले प्रदेशको नीति तथा कार्यक्रममा संघीय सरकारको बजेट वक्तव्य सच्याउन आग्रह गर्ने विषय उल्लेख गर्न माग गरेका थिए ।