धरान । धरान उपमहानगरपालिकाको लागत साझेदारी कार्यक्रमअन्तर्गत धरानका तीनवटा वडाका २५ जना किसानलाई बंगुरको पाठासहित एकसाताका लागि पुग्ने दाना वितरण गरिएको छ ।

संघीय, स्थानीय सरकार र सम्बन्धित किसानको लागत साझेदारीमा प्रतिकिसान ४ वटाका दरले बंगुरको पाठा वितरण गरिएको धरान उपमहानगरपालिका पशुसेवा शाखाका प्रमुख महेन्द्रकुमार पैकराले जानकारी दिए । 

धरान १७ र ५ नम्बर वडाका १०–१० जना किसान र धरान ४ का ५ जना किसानलाई तीनवटा भुनी र एउटा बुच्चा बंगुरको पाठा दिइएको हो । बच्चा उत्पादन गर्ने उद्देश्यले बंगुर वितरण गरिएको हो । प्रतिकिसानले ९ हजार रुपैयाँ खर्चेर खोरसुधार कार्यक्रम गरेका छन् । 

संघीय सरकारबाट ९ लाख ५३ हजार रुपैयाँ र स्थानीय सरकारले ८ लाख ४० हजार रुपैयाँको लागत रहेको छ । कुल ५० जना किसानलाई दिइने कार्यक्रम भए पनि पहिलो चरणमा २५ जना र दोस्रो चरणमा २५ जना किसानलाई बंगुरको पाठा वितरण गरिने भएको छ । धरान ४ का १५ र धरान ६ का १० जना किसानलाई बंगुरको पाठा दिइने प्रमुख पैकराले जानकारी दिए । 

धरान नगर प्रमुख तिलक राईले किसानलाई बंगुर वितरण गरेका थिए ।