विराटनगर । दोस्रो लहरको कोरोना भाइरस संक्रमण र निषेधाज्ञाको फाइदा उठाउँदै व्यवसायी र बिचौलियाहरूले स्वास्थ्य सम्बन्धी सामग्री, उपकरण र औषधिमा कालोबजारी गरेका छन् ।

कडा लक्षणसहितको गम्भिर प्रकृतिका कोरोना संक्रमित बढेर विरामीले उपचार नपाएर मृत्युवरण गरिरहेको समयमा स्वास्थ्य सामाग्रीमा भने कालोबजारी सुरु भएको हो । 

संक्रमितले अस्पताल भरिएपछि बेडको अभाव, चिकित्सकको सहज उपलब्धता, घरबाट अस्पतालसम्मको पहुँच लगायत समस्या झेल्दै आएका कोरोना संक्रमित र उनीहरुका आफन्त स्वास्थ्य सामाग्रीमा हजारौं रकम खर्चिन बाध्य भएका छन् ।

अहिले बजारमा माक्स, सेनिटाइजर, रेम्डिेसिभिर, अक्सिजनको मात्र मापन गर्ने अक्सिमिटरको कालोबजारी हुने गरेको उपभोक्ताको गुनासो छ । स्वास्थ्यजन्य सामग्रीको अनुगमन, गुणस्तर तथा मूल्य जाँच नहुँदा उपभोक्ता मारमा परेका छन् । बिचौलिया र कालोबजारी गर्ने व्यापारीहरू भने जोगिँदै आएका छन् । 

प्रदेश १ को राजधानी विराटनगर, सुनसरीको धरान, इटहरीलगायतको क्षेत्रमा स्वास्थ्य सामाग्रीको कालोबजारी हुने गरेको पाइएको हो । यस्तै कोभिड अस्पताल नजिक रहेका फार्मेशीहरूमा रेम्डेसिभिरको कालोबजारी हुने गरेको पाइएको छ । ४ हजार ५ सय रुपैयाँमा यो रेम्डिेसिभिर इन्जेक्सन ८ हजारदेखि  २० हजार रुपैयाँसम्ममा खरिदबिक्री हुने गरेको छ ।

स्वास्थ्य समाग्रीमा कालोबजारी हुने गरेको जनगुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरले मोरङ र सुनसरीको ९ वटा फार्मेशीमा अनुगमनको गरेको छ ।

पछिल्लो तीन दिन यता गरेको अनुगमनको क्रममा ७ वटा फार्मेशीले स्वास्थ्य सामाग्रीमा अस्वभाकि मुल्य कायम गरि अत्याधिक मुनाफा राखि कालोबजारी गरेको भेटिएपछि वाणिज्य कार्यालयले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाहीको दायरमा ल्याएको छ । 


गत आइतबार अनुगमनको क्रममा मोरङको बुढीगंगा गाउँपालिकामा २ टंकिसिनवारीमा रहेको विज्ञान फार्मेसीले सेनिटाइजरको कालोबजारी गरेको भेटिएको थियो । उक्त फार्मेशीले १ सय ६ प्रतिशितसम्म मुनाफा राखि सेनिटाइजर बिक्री वितरण गर्दै आएको थिए ।

मञ्जरी आयुर्वेद औषधी उद्योगले उत्पादन गरेको ‘रव क्लिन’ ब्रान्डको  सेनिटाइजरमा खरिद गरेको भन्दा १०६.२५ प्रतिशित मुनाफा राखि बिक्री गरेको भेटिएपछि उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले २ लाख रुपैयाँ जरिवना ग¥यो । १२० एमएलको स्यानिटाइजर ८० रुपैयाँमा खरिद गरी विज्ञान फार्मेशीले १ सय ६५ रुपैयाँ बिक्री वितरण गर्दै आएको अनुगमनको क्रममा भेटियो । 

मंगलबार सुनसरीको इटहरीमा रहेको थोक बिक्रेता विविता सर्जिकल हाउसले पनि सेनिटाइजरमा कालोबजारी गरिएको भेटियो । भारतीय कम्पनीले उत्पादन गरेको ‘लाइफ ग्रुथ’ ब्राण्डकोे ह्यान्ड स्यानिटाइजर १ सय ३ प्रतिशत भन्दा बढी मुनाफा राखि बिक्री गरेको अनुगमनको क्रममा फेला परेको थियो । 

३९.३० मा  खरिद गरेको सेनिटाइजर ८० रुपैयामा बिक्री गरेको भेटिएपछि वाणिज्य कार्यालयले २ लाख जरिवना गरेको थियो । उल्लेखित प्रतिनिधी मुलक घटनाले पनि स्वास्थ्य समाग्रीमा कालोबजारी बढेको पुष्टि गर्दछ ।

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले निषेधाज्ञाको समयमा अस्वाभिक मुल्य कायम गरि अत्याधिक मुनाफा राखेर स्वास्थ्य सामाग्री बिक्री बितरण हुने गरेको जनगुनासो आउन थालेपछि अनुगमन बढाएको बताए ।

‘बजारमा उपभोक्ताहरूको धेरै गुनासो आउने गरेको छ,’ उनले भने, ‘अहिले हामीले बजार अनुगमनलाई तिव्रता पनि दिएका छौं ।’ अनुगमनको क्रममा अनुचित र अस्वाभाविक मुल्य कायम गरि दैनिक उपभोग्य खाद्यबस्तुदेखि अतिआवश्यक स्वास्थ्य सामाग्री बिक्री वितरण गरेको भेटिए उपभोक्ता संरक्षण ऐन अनुसार कारवाहीको दायारमा ल्याउँदै गरेको उनले बताए ।