वराहक्षेत्र १ स्थित चतरामा अखाडा जमाएर बसोबास गरिरहेका विवादित धार्मिक गुरु कृष्णदास भनिने कृष्णबहादुर गिरीले आइसोलेसन निर्माण गर्न बाधा उत्पन्न गरेका छन् । 

कोरोना सङ्क्रमणको पहिलो चरणमा ७० बेडको आइसोलेसन, क्वारेन्टाइन र होल्डिङ सेन्टर सञ्चालन गरिएको धार्मिक अखाडा परिषरको भवनमा राज्यले निर्माण गर्न प्रोत्साहन गरेको आइसोलेसन सेन्टर बन्न बाधा उत्पन्न गरेका छन् ।

गिरीका अनुयायीसमेतले यस अघि प्रयोग भएका ७० वटा बेड, सोही परिमाणमा रहेका सीसी क्यामेरा, वाइफाइका तार, राउटर, साउण्ड सिस्टम कब्जा गरेका छन् । वराहक्षेत्र नगरपालिकाका कर्मचारीले ती सामग्री नयाँ निर्माण गरिने आइसोलेसनका लागि प्रयोग हुने अनुरोध गर्दा पनि अखाडाको अनुयायीले नगरका कर्मचारीलाई नदिएको कर्मचारीहरुको गुनासो छ । 

‘सशस्त्र प्रहरीको समन्वयमा ४३ वटा बेड ल्याउन सफल भए पनि अन्य सामग्रीहरु उनीहरुले ल्याउन दिएनन्, नगरका एक कर्मचारीले भने, ‘७० वटा वेडलाई पुग्ने सामान त्यहीं छ, सीसी क्यामेरा, वाइफाइ राउटर, तार, साउण्ड सिस्टम, पनि छ, ४३ वटा बेड चाहिं लिएर आयौं ।’ 

बाँकी सामग्री माग्न जाँदा नदिएको नगरका कर्मचारीको गुनासो छ ।  

गत वर्ष आइसोलेसन व्यवस्थापनमा प्रदेश सरकार र वराहक्षेत्र नगरपालिकाको लाखौं रुपैयाँको बजेटबाट ती सामग्री खरिद गरिएका थिए । नगर कार्यपालिकाको बैठकबाट रामानन्दाचार्य सेवा पीठ भनिने उक्त अखाडामा आइसोलेसन सेन्टर बनाउने निर्णय भएको थियो । तर जोगी भेषधारी बाबाले अवरोध उत्पन्न गरेको नगरपालिका स्रोतले बताएको छ । 

अखाडा परिषरमा आइसोलेसन निर्माण गर्न नसकेको लाचार नगरपालिकाले चक्रघट्टीस्थित सप्तकोशी बहुमुखी क्याम्पसमा ५० बेडको आइसोलेनस निर्माण गरेको छ । सामग्री अखाडाले कब्जा गर्दासमेत नगरपालिकाले कुनै चासो नदिएको स्थानीय बताउँछन् । 

हेल्थ डेस्क राख्ने निर्णय कार्यान्वयन भएन

कोरोना संक्रमणको दोस्रो लहर देशविदेशमा भयावह रुपमा देखिइरहेका बेला सुनसरीको धार्मिक, पर्यटकीय क्षेत्र वराहक्षेत्र नगरपालिकाले हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय हालसम्म पनि कार्यान्वयनमा आएको छैन । 

नगरपालिका साता अघि नाकामा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो । साथै नगरमा आइसोलेसन निर्माण गर्ने हाटबजार र धार्मिक क्षेत्रमा नियमन गर्ने निर्णय गरेको थियो । 

यस अघि कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै आइसोलसन सञ्चालन गर्नका लागि छिमेकी नगरपालिका रामधुनीसँग सहकार्य गर्ने निर्णय गरिएको थियो । वराहक्षेत्र १ चतरामा अवस्थित पुरानो होल्डिङ सेन्टरसमेत सञ्चालित रामानन्दाचार्य सेवा पीठको भवनलाई आइसोलेसन सेन्टरका रुपमा निर्माण गर्ने निर्णय गरिएको थियो ।

यस्तै वराहक्षेत्र नगरपालिकाको विभिन्न नाकाहरुमा बाहिरबाट आउने, व्यक्तिहरुको स्वास्थ्य जाँच र गन्तव्यको रेकर्ड राख्ने निर्णयसमेत गरेको थियो । स्वास्थ्य शाखा प्रमुख सुलोचना चौधरीका अनुसार वराहक्षेत्र नगरपालिकाको नाकाहरु कोशी पुल, मधुवन, शिकारी थान, सुनसरी पुल र पिंडारीमा हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिएकी थिइन् । तर साता दिन बितिसक्दा पनि निर्णय कार्यान्वयनमा आएको छैन । 

भवनका कोठामा एसी जोडेपछि अवरोध

धार्मिक प्रयोजनका लागि निर्माण भएको भवन भनिए पनि अखाडा परिषरको विवादित भवनका कोठामा एसी (वातानुकूलित) जोडेपछि कृष्णदासले आइसोलेसन बन्न नदिएको बताइएको छ । 

यस अघि आइसोलेसन, क्वारेन्टाइन र होल्डिङ सेन्टरका रुपमा प्रयोग भएका कोठालाई अहिले व्यावसायिक प्रयोजनका रुपमा प्रयोग गर्दै आएको बताइएको छ । 

पीठ परिसरमा तीन वटा भवनमा कुल १३२ वटा कोठा छन् ।