धरान । भारतको दिल्लीबाट सातामा दुईपटक नेपालका लागि उडान भर्न पाउने भएको छ ।  ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै भारतको दिल्लीबाट काठमाडौंका लागि सातामा दुईपटक मात्रै उडान गर्न पाउने भएको हो । नेपाल सरकारले वैशाख २३ गतेदेखि एकसाताको लागि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ ।

सोमबार मध्यरातिदेखि लागू हुने गरी घरेलु उडानलाई रोक लगाउने निर्णय गरेको छ । भारतमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले भारतबाट उडान भर्दै आएका विमानलाई पनि रोक लगाउने निर्णय गरेको हो । दिल्लीमा आजको मितिसम्म ११ लाख ९४ हजार ९ सय ४६ जना सङ्क्रमित भइसकेका छन् । त्यस्तै १६ हजार ९ सय ६६ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । 

भारतबाट उडान भर्ने अन्तर्राष्ट्रिय विमानलाई युरोप, अमेरिका, एसिया तथा अफ्रिकाका देशले प्रतिबन्ध लगाइसकेको छ । एकसाता अघि नै हङकङले भारतको उडानलाई प्रतिबन्ध लगाएको थियो । नेपालमा भने हालसम्म प्रतिबन्ध लागेको थिएन । 

नेपालमा स्थल मार्ग भएर पनि दैनिक नेपाली तथा भारतीयहरू नेपाल प्रवेश गरिरहेका छन् । नेपालको करिब १४ सय किलोमिटर भारतसँग सीमा जोडिएका कारणले पनि स्थल मार्ग भएर आउनेको सङ्ख्या हवाई मार्गभन्दा धेरै गुणाले बढी छ । नेपाल सरकारले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेपछि घरेलु उडानमार्फत् काठमाडौं आउजाउ गरिरहेको अवस्था छ । घरेलु उडानमार्फत् अप्रिल २८ तारिखमा एकैदिन १५ हजार २ सय ६३ जना यात्रुहरूले उडान गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा आउने अन्तर्राष्ट्रिय उडानहरू ५० प्रतिशतले कटौती गरिसकेको अवस्था छ । तर, अब भने वैशाख २३ गतेबाट एक साताका लागि पूर्णरूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।