विराटनगर। विराटनगर – ७ धाडेवा रोडमा रहेको कपडा र हार्डवयेरको गोदाम भित्र कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दुई साताअघि बन्द भएको गोदाममा प्रहरीले पेस्तोलसहित कामदार सुजित साहलाई आइतबार साझ पक्राउ गरेको हो ।
साहले दिलिप धाडेवाको घरको सटर भाडामा लिएर लामोसमयदेखि कपडा र हार्डवयेरको गोदाम बनाएका थिए । १५ दिन अगाडी उनले गोदम हटाएर खाली गरेका थिए । आइतबार साझ इटहरीबाट आएको राजस्व अनुसन्धानको टोलीले राजस्व छली गरेको आशंकामा गोदममा छापा हान्न आएको थियो । साहलाई बोलाएर गोदाम खोल्दा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद भएको मोरङ प्रहरीले जनाएको छ । घटनास्थलमा वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी दिपक कार्की र जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा फाटमा प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वको टोलीले घटनास्थलमा पुगेर पेस्ताल, त्यसमा लाग्ने गोली र साहलाई पक्राउ गरेको हो । साहले पेस्तोल बाटोमा भेटेर गोदाम ल्याएर राखिदिएको प्रहरीलाई बयानको क्रममा बताएका छन् । तर, गोदम भित्र कसरी पेस्तोल र कसले ल्याएर के उद्देश्यले ल्याएको यस घटनाको गहन अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनले पेस्तोल र गोली बरामद गरि कामदारलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको जानकारी दिए । ‘अहिले हामीले अनुसन्धान सुरू गरेका छौं,’ उनले भने, ‘बन्द गरिएको गोदाम भित्र कसरी पेस्तोल आइपुग्यो । त्यस विषयमा अनुसन्धान सुरू गरेका छौं ।’ थप विषय अनुसन्धानपछि खुल्ने उनले बताए ।
