देउराली । धरान १५ मा दिउँसै लुटपाट भएको छ । धरान १५ स्थित नौलो पथमा  अज्ञात व्यक्तिले घर भित्रै पसेर घरमा रहेकी ८५ वर्षीया वृद्धालाई रडले प्रहार गरी लुटपाट भएको हो । 

लुटेराले  वृद्धा  गोविन्दमाया विश्वकर्मलाई मुखमा कपडा खाँदेर टाउकाेमा रडले प्रहार गरी उनले लगाएकाे सुनकाे  सिक्री, औठीलगायत का गरगहना लुट्नुका साथै  काेठाकाे दराजमा रहेकाे नगद र सुन पनि लगेकाे  बुहारी झरना विश्वकर्मले बताएकी छन् ।

उनले भनिन् 'म र मेराे छाेरा मन्दिर गएका थियाैं, करिब १२ बजे  मन्दिरमा रहेको बेला घरमा लुटपाट भएको भन्दै फोन आएपछि घर आउँदा  आमाकाे टाउकाेमा रडले हानेर चाेट भएकाे रहेछ, आमाले लगाएका गहना खाेसेर लगेकाे रहेछ दराज पनि खुल्लै  थियाे । पछि त्यहाँ भएकाे सुन र पैसा पनि थिएन, पछि मैले दराज बन्द गरिदिए । ’  

ब्लाष्टसँगकाे फाेन सम्पर्कमा उनले भनिन् ‘आमाका टाउकोमा गम्भीर चोट भएकाले म आमालाई लिएर नोवेल आएको छु कति लुटपाट भयो भन्ने यकिन भइसकेको छैन । ’   

इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर, हेमराज ओलीका अनुसार बिहान करिब  साढे १० बजेदेखि साढे ११ बजेको बीचमा लुटपाट भएको हो । ओलीले भने  ‘ वृद्ध महिलाको टाउकोमा रडले हानेर मुखमा कपडा खाँदेर उनले लगाएको गरगहना लुटेको देखियो । कोठा भित्रै रहको दराजको हेन्डल पनि भाचिएको छ । ’ 

 घाइते वृद्धाको उपचारका लागि विराटनगर स्थित नोवेल अस्पताल लगिएको ओलीले बताएका छन् ।

वृद्धा दिदीलाई हेर्न भनेर आएकी धरान ८ की देवी लामाले दिदी गोविन्दमाया खाटमा खुट्टा झरेर लडिरहको अवस्थामा देखेपछि होहल्ला गर्दा छिमेकी आएर बुहारी र नातीलाई खबर गरेकाे लामाले बताएकी छन् । 

लामाले भनिन् 'सुरूमा त दिदी गर्मीले गर्दा त्यसरी बस्नु भएकाे हाेला भन्ने लाग्याे ।  पछि हेर्दा भुइँभरी रगत थियाे । टाउकाेमा चाेट  गहिराे  थियाे ।  बान्ता गर्नु भएकाे थियाे । मैले पानी दिएँ अनि  एक जना अधबैंसे आएर मुखमा कपडा खाँदेर टाउकाेमा रडले हानेर सुन लुटेर लग्याे भन्नु भयाे ।  अनि मैले आफन्त र छिमेकी बाेलाए । '