विजयपुर । सिटिजन्स बैङ्कले उदयपुर त्रियुगा–६ स्थित लालपत्तामा शाखारहित सेवा सञ्चालन गरेको छ ।

बैङ्कका प्रवक्ता उमङ्ग शर्माका अनुसार लालपत्तामा १ सय ९ औँ शाखारहित इकाई सञ्चालनमा आएको हो । सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी रोमाकुमारी थापालाई प्रतिनिधि नियुक्त गरेको उनले बताए ।

बैङ्कले निक्षेप सङ्कलन, रकम भुक्तानी गर्नेछ । त्यस्तै कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानीलगायत सेवा दिने भएको छ । बैङ्कले देशका विभिन्न दुर्गम क्षेत्रमा सर्वसुलभ बैङ्किङ सेवा दिने उद्देश्यले शाखारहित सेवा विस्तार गर्दै आएको छ ।

बैङ्कका १ सय ६७ वटा शाखा, १ सय १३ वटा एटिएम रहेका छन् । बैङ्कले करिब साढे नौ लाख ग्राहकलाई सेवा दिँदै आएको छ । बैङ्कले चेकको प्रयोग नगरी मोबाइल बैङ्किङ एपमा लग–इन गरेर, काउण्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्ने सेवा दिइरहेको  छ ।

वित्तीय बजार, नीति, नियम र प्रणालीलगायतको ज्ञान नहुनेहरूलाई बैङ्कले वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।