इनरुवा। इनरुवा–८ का वडाध्यक्ष रविन्द्र मण्डलले भारतीयलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको खुलेको छ । 

मण्डलले भारतीय नागरिक सोनी साहलाई नेपाली नागरिकताको लागि सिफारिस गरेको खुलेको हो । भारत विहार मुजफ्फरपुरका सोनीले ८ नम्बर वडा कार्यालयबाट २०७५ जेठ १५ गते लिएको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सोही दिन नेपाली नागरिकता लिएको खुलेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौंमा परेको उजुरीका आधारमा सुनसरी प्रहरीलाई प्राप्त अनुसन्धान आदेशपश्चात् छानबिनको क्रममा वडाध्यक्ष मण्डलसमेतको संलग्नता खुलेको हो । छानबिनका क्रममा नक्कली आमा बनेर वडानम्बर ८ की सन्तोषी साह हलवाईले सनाखत गरेको पाइएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार सन्तोषीको श्रीमान् पिर्थीकुमार साह हलवाईलाई भारतीय नागरिक सोनीको बाबु बनाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार नेपाली नागरिकता बनाउने प्रयोजनका लागि वडा कार्यालयले भारतीय नागरिक सोनी साविक डुम्राहा–७ मा जन्मेको भनी सिफारिस दिएको छ । वडाध्यक्ष मण्डलले प्रमाणित गरेको सिफारिसमा भारतीय नागरिक सोनीको जन्म मिति २०५४ साल १२ महिना २५ गते उल्लेख छ । 

अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सरोज खनालका अनुसार झुटो विवरणका आधारमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गरेको पाइएपछि अनुसन्धान थालिएको छ । खनालले कार्यालयमा २०७७ चैत ५ गते अख्तियारबाट प्राप्त अनुसन्धान आदेशसहितको पत्र बमोजिम छानबिन तथा कारबाहीको प्रक्रिया थालिएको बताए ।

प्रहरीका अनुसार हाल वडाध्यक्ष फरार छन् । फरार वडाध्यक्षको खोजी जारी रहेको बताउने सुनसरी प्रहरीले सिफारिस दिलाउने कार्यमा संलग्नताको आधारमा तत्कालीन वडासचिव इनोदकुमार पोखरेल र कर्मचारी गोविन्दप्रसाद पोखरेल उपरसमेत अनुसन्धान तथा छानबिनको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रहरीले वडाध्यक्ष मण्डलसहितको नाममा अदालतबाट २०७७ चैत २५ गते पक्राउ आदेश लिएको जनाएको छ । प्रहरीले वडाध्यक्ष फरार रहेकाले खोजी जारी रहेको बताइरहँदा स्थानीयले भने वडाध्यक्ष मण्डल घरपरिवारको सम्पर्कमै रहेको दाबी गरेका छन् । 

प्रहरी अनुसन्धानको २५ दिने म्याद गुजारेर वडाध्यक्ष सोझै अदालतमा उपस्थित हुने दाउमा रहेको स्थानीयको बुझाइ छ । भारतीयलाई नागरिकता सिफारिस गरेको विषय उपर छानबिन थालिएसँगै पक्राउ पर्ने डरले लुकेका वडाध्यक्ष स्वयम् प्रहरीकै संरक्षणमा रहेको स्थानीयको दाबी छ ।

उता वडा कार्यालयका कर्मचारीले भने वडाध्यक्ष कामविशेषले बिदा बसेको बताएका छन् । कर्मचारीले दिएको जानकारी अनुसार भतिजोको विवाहका लागि भन्दै वडाध्यक्षले एक महिनाको बिदा लिएका छन् । भारतीयलाई नेपाली नागरिकता सिफारिस दिइएको विषयमा वडाध्यक्षको भनाइ उद्धृत गर्दै एक कर्मचारीले भने, ‘स्थानीय व्यक्ति बाबुआमा बनी तयार पारिएको कागजातका आधारमा वडाले सिफारिस दिएको हो । वडाध्यक्षसहित वडाका कर्मचारीलाई झुक्याएर सिफारिस लिइएको पाइयो । थप कुरा अनुसन्धानपछि खुल्नेछ । अदालतको निर्णय अन्तिम हुनेछ ।’ 

प्रहरीले दिएको जानकारी अनुसार झुटा विवरण पेश गरी अनुसूची फारम भराउने कार्यमा संलग्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा लेखापढीको काम गर्ने शिवशर्मा खत्वे फरार छन् । नक्कली आमा सन्तोषीसमेत फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले नक्कली बाबु बनाइएका व्यक्तिको भने संलग्नता नपाइएकाले उनलाई सोधपुछपश्चात् छाडिएको जनाएको छ ।

झुटा विवरण पेश गरी नागरिकता दिलाउने कार्यमा खत्वेका साथी शिवशक्ति साहसमेतको संलग्नता रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार शिवशक्ति भने यसअघिबाटै सरकारी कागज कीर्ते मुद्दामा झुम्का कारागारमा सजाय भोगिरहेका छन् । सुनसरी प्रहरीले दिएको जानकारी अनुसार भारतीयलाई नेपाली नागरिकता दिलाउने कार्यमा संलग्नताको आधारमा सुनसरी प्रशासनका कर्मचारीउपर समेत छानबिन थालिएको छ । 

नेपाली नागरिकता सम्बन्धी ऐन, २०६३ को दफा २१ को उपदफा २ बमोजिम कुनै विदेशीलाई झुटो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

नेपाली नागरिक भएको दाबीसहित झुटो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गर्ने विदेशीको हकमा भने एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजारदेखि एक लाखसम्म जरिबाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ ।