विराटनगर । विराटनगर – ८ भलुवास्थित फुसको झुप्रो भएको घर । त्यही घरमा ६० वर्षिय बिकुवा सहनी मलहाको परिवार बसोवास गर्दछ ।

उनका माइलो छोरा रवि बावुको घरदेखि उत्तरपट्टी जस्तापता लगाएको घर बनाएका छन् । रवि र उनका श्रीमति सहित तीन जनाको परिवार छुट्टै घरमा बस्दै आएका छन् । बिकुवाको घरमा घरेलु मदिराको पसल रहेको छ ।

राति अबेरसम्म पसल खोलेको भन्दै विकुवा र माइलो छोरा रविबीच शनिबार राती साढे ८ बजे झगडा सुरु भएको थियो ।

‘त्यसै क्रममा रविले धकेल्दा घरको कंक्रिटको पिलरमा ढोकिएर नशामा लठ्ठिएका बावु बिकुवा आगनमा लढे,’ प्रत्यक्षदर्शी छिमेकी विनोद राजवंशीले घटनास्थलमा पुगेका ब्लाष्टकर्मीसँग भने, ‘आगनमा ढकेका बिकुवाको टाउँकोदेखि रगत बग्न थाल्यो ।’

स्थानियका अनुसार बिकुवाको जेठो छोरा लेटु सहनी बिरामी भएर घरमै सुतेका थिए । भाइ र बावुको झगडा गरेको देखेपछि मुटुको रोगी रहेका लेटु बेहोस भएका थिए ।

जेठो छोरालाई अस्पताल लैजान बोलाइएको एम्बुलेन्समै राखेर घाइते बिकुवालाई विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । अस्पताल पु¥याउँदा चिकित्सकले बिकुवालाई राती ११ बजे मृत्यु घोषणा गरेको स्थानियको भनाई छ ।

प्रराम्भिक चरणको अनुसन्धानले सामान्य विषयमा वादविभाद हुदा माइलो छोराले बावुलाई धकेल्दा घाइते भएको र उपचारको क्रममा अस्पताल पुर्याउँदा मृत्यु भएको खुलेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

‘अहिले पोस्माटम गरिन कोशी अस्पतालमा शव रखिएको छ,’ उनले भने, ‘थप विषय पोस्माटम रिपोट पनि खुल्नेछ ।’

बावुको मृत्यु भएपछि २५ वर्षिय माइलो छोरा रवि फरार छन् । शनिबार राति नै फरार भएका रविको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले जेठा र कान्छा छोरालाई सोधपुछ गरेपछि छोडिदिएको छ । 

विकुवाको तीन छोरा र एक श्रीमति छिन् । जेठा र कान्छा छोरा बिकुवासँग र माइलो छोरा छुटिएर बस्दै आएका छन् । माइलो रविका २ छोरा र एक जना श्रीमति रहेका छन् । उनीहरू दिनभरी माछा मारेर परिवार पाल्दै आएका छन् ।