धरान। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले नेपाल आयल निगम घेराउ गरेको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि एमालेको माधवकुमार नेपालनिकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनपछि निगममा ज्ञापन–पत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट लाखौं विद्यार्थीसहित सबै जनतामा असर परेकाले आन्दोलनमा उत्रिनु परेको बताए ।

निगमले भने स्वचालित प्रणालीअनुसार प्रत्येक पन्ध्र–पन्ध्र दिनमा मूल्य समायोजन हुने बताएको छ । निगमसँग भण्डारण क्षमता नभएकोले भारतले मूल्य बढाउनासाथ नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको निगमले जनाएको छ । 

मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको सूचनाअनुसार नेपालमा मूल्यवृद्धि गरिएको निगमले बताएको छ ।