धरान । धरानमा चौबीस घण्टा नबित्दै फरक–फरक स्थानमा दुई युवामाथि धारिलो हतियार प्रहार भएको छ ।
धरान–८ सिद्धार्थ मार्गमा बिहीबार साँझ ५ बजेतिर धरान–११ का १९ वर्षीय समिर खालिङ राईलाई आफ्नै साथीले छुरा प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार लेनदेनको विषयमा विवाद हुँदा छुरा प्रहार गरेको घाइते राईले जानकारी दिएका छन् ।
उनका अनुसार राईको पेटमा छुरा प्रहार गर्दा आन्द्राको केही भाग बाहिर निस्किएको थियो । उनलाई आइसियुमा उपचारपश्चात हाल सामान्य बेडमा राखिएको छ । अहिले अवस्था सामान्य छ ।
छुरा प्रहारमा संलग्न धरान–८ का १८ वर्षीय दोर्जे भनिने निसान मोक्तान फरार छन् । उनको खोजी कार्य भइरहेको छ । ‘दोर्जेले घाइतेको ५ हजार रुपैयाँ दिनु रहेछ, त्यही पैसाको निहुँमा विवाद हुँदा छुरा प्रहार भएको भनेर घाइतेले भनेको छ’ डिएसपी बस्नेतले भने, ‘घटनामा संलग्नको खोजी भइरहेको छ ।’
यता सो घटना लागूऔषधको विषय रहेको स्थानीय बताउँछन् । त्यस्तै २४ घण्टा नबित्दै धरान–८ भोटेपुलका २१ वर्षीय सनम परियारलाई धरान–२ निकेतन गल्लीमा पुर्याएर छुरा प्रहार गरेका छन् । आफ्नै साथीहरूले स्कुटीमा हालेर त्यहाँ पुगेपछि आक्रमण गरेको घाइतेका दाजु सुमन परियारले फोनसम्पर्कमा जानकारी दिए ।
उनलाई लिएर जाने धरान–१५ पिण्डेश्वरी चोकका प्रवेश राई, गोरे राई र एक अपरिचित युवाको नाममा इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएको उनले बताए ।
‘ती केटाहरूसँग गएको पनि थाहा छ, एकजना दिदीले झगडा गर्न जान लागेको कि क्या हो भन्ने हप्काउनु पनि भयो, हैन भन्दै टारेँ’ दाजु सुमनले फोन सम्पर्कमा भने, ‘पछि मेरो भाइमाथि नै योजना बनाएर छुरी प्रहार गरेछन्, त्यसको भिडियो पनि शिक्षा निकेतन स्कुलको सीसी क्यामेरामा कैद भएको रहेछ ।’
उनका अनुसार घटना बिहान करिब १० बजेतिरको हो । सनमको दाहिने हातमा गहिरो चोट लागेको छ । अवस्था सामान्य भए पनि थप उपचारको लागि राजविराज रिफर गरिएको छ । घटनापश्चात् तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगिए पनि साँझ ६ बजेतिर रिफर गरिएको हो ।
सनमले आरोपितलाई तत्काल खोजतलास गरी कारबाही गर्नुपर्ने बताए । धरान–८ दुर्गापथमा बिहीबार साँझ मात्रै तिलकबहादुर माझीले पत्नी सम्झना माझीको हत्या गरेका थिए ।
तिलकबहादुरलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरी म्याद थपसमेत भइसकेको इप्रका धरान सूचना शाखाले जनाएको छ । तिलकबहादुरले पत्नी सम्झनाको दाहिनेपट्टिको भागमा खुकुरीले प्रहार गरी गम्भीर घाइते बनाएका थिए । गम्भीर घाइते बनेका सम्झनाको बीपी प्रतिष्ठानमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।