तीन कृषि कानूनको विरोधमा आज भारतीय किसानहरुले भारतभर ‘रेल रोको अभियान’ आह्वान गरेका छन् । यो अभियान स्थानीय समयअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

आन्दोलनरत किसानहरु एकातिर भारत सरकारसँग निरन्तर वार्तामा छन् भने अर्कातिर आन्दोलनलाई सशक्त बनाउन समेत लागि परिरहेका देखिन्छन् । आन्दोलनका क्रममा आज संयुक्त किसान मोर्चाका तर्फबाट भारतभरी ‘रेल रोको’ आन्दोलन गरिएको छ । 

भारतका अंबाला, पटना, जम्मू–कश्मीर, पलवल र रांचीमा यो अभियानको असर देखिएको संचारमाध्यमले जनाएका छन् । अमर उजालाका अनुसार जयपुरमा प्रदर्शनकारी रेल्वेको ट्र्याकमा बसेर आन्दोलन गरिरहेका छन् । दिल्ली मेट्रोले चार स्टेशन बन्द गरेको छ ।

उत्तर रेलवेस्थित फिरोजपुर डिभिजनले रेल स्टेशनमै रोक्ने निर्णय गरेको छ । प्रदर्शन रोकिएपछि सुरक्षा नियमअनुसार रेल संचालन हुने रेल अधिकारीहरुले बताएका छन् । 

युपी एडीजी (कानून व्यवस्था) प्रशांत कुमारले किसानको आन्दोलन शान्तिपूर्ण रहेको प्रतिक्रिया दिएका छन् । किसानको शान्तिपूर्ण आन्दोलनको आडमा असामाजिक तत्वले आन्दोलनको दूरुपयोग गर्न सक्ने विषयमा स्थानीय प्रशासक सचेत रहेको उनले प्रतिक्रिया दिएका छन् ।