अध्यापन अनुमति नपाएका विद्यालयका कर्मचारीको कुटाइबाट विद्यार्थीको ज्यान गएको घट्नाको अझै टुङ्गो लाग्न सकेको छैन ।
झापाको कन्काई ६ चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत स्थानीय १० वर्षीय कृष्णप्रसाद राजवंशीको कुटाइपछि मृत्युको विषय हालसम्म टुङ्गोमा पुगेको छैन ।
आरोपित मगरलाई म्याद थप गर्दै अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका डिएसपी सन्तोष आचार्यले बताए । पीडित पक्षले दिएको उजुरीलाई आधार मानेर प्रहरीले अनुसन्धान जारी राखे पनि पीडित परिवारले क्षतिपूर्ति पाउन नसकेको गुनासो छ ।
विद्यालयमा कार्यरत खरिदार रबिन मगरको पिटाइबाट विद्यार्थीको मृत्यु भएको पीडित पक्षको आरोप छ ।
कक्षा ४ मा अध्ययनरत बालकलाई माघ १८ गते अङ्ग्रेजी पढाउँदा नजानेपछि कर्मचारी मगरले कान मोलेर गालामा झापड हानेको स्वीकारेका छन् । सोही निहुमा घाइँते भएका बालकको उपचारको क्रममा ११ दिनपछि मृत्यु भएको परिवारको आरोप छ ।
उपचारको क्रममा विद्यार्थी राजवंशीका मृत्यु भइसकेपछि मृतकका दाजु सुदीप राजवंशीले आरोपित कर्मचारी मगरलाई इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी दिएका थिए ।