इनरुवा । ओली पक्षधर अनेम संघ इनरुवाले नगरमा बेग्लै कमिटी गठन गरेको छ । 

अगुवा महिला भेलाको आयोजना गरी नगर कमिटी पुनर्रगठन गरिएको हो । भेलाले इन्दिरा पराजुली संयोजक रहेको ५५ सदस्यीय कमिटी गठन गरेको छ । 

उक्त कमिटीको सह–संयोजकमा सरिता कार्की घिमिरे चुनिएकी छिन् । त्यसैगरी सचिवमा सविना सिग्देल रेग्मी र कोषाध्यक्षमा अनु आलेलाई छानिएको छ । 

कमिटी गठन पूर्व कार्यक्रममा भेला भएका अगुवा महिला सहित सहभागिलाई नेताहरुले सम्बोधन गरेका थिए । 

नेपाल लेखापढी कानुन व्यवसायीको भवनमा आयोजित कार्यक्रममा सहभागिको संख्यात्मक उपस्थिति बाक्लो देखिएको हो । अनेम संघ इनरुवा नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई महिला नेतृहरुका अलावा नेकपा ओली पक्षधर नेताहरुले सम्बोधन गरेका थिए । 

20210112011755_IMG_7253

नगर कमिटी अध्यक्ष इन्दिरा पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि भने भगवती चौधरी रहेकी थिइन् । 

सो कार्यक्रममा नेताहरु तैयब हुसेन, खेमराज पोखरेल, रेवती भण्डारी, लिलम बस्नेत, लक्ष्मी गौतम, मञ्जु भण्डारी, सरोज पोखरेल र कानुन अधिकारी, मेघराज न्यौपाने, सरिता कार्की घिमिरे लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अधिकांश वक्ताले प्रधानमंत्री ओलीको कदमलाई सराहनीय भनेका छन् । उनीहरुले प्रचण्डले नेकपा सिध्याउन लागेपछि पार्टी र मुलुकलाई जोगाउन ओलीले बाध्यात्मक रुपमा पछिल्लो कदम चाल्नु परेको जिकिर गरेका छन् । 

कार्यक्रममा बोल्ने क्रममा अधिकांश वक्ताले ओली पक्षको कार्यक्रममा क्रमशः जनसहभागिता बढ्दै जानुलाई आम जनतामाझ राजनीतिक घटनाक्रम बारेको वास्तविकता छर्लङ्ग हुँदै गएको रुपमा व्याख्या गरेका छन् । 

उनीहरुले कार्यकर्तालाई नअत्ताली धैर्य गर्न आग्रह गरेका छन् । कार्यक्रममा नेताहरुले आगामी चुनावको तयारीमा लाग्न आग्रह गर्दै सुर्य चिन्ह आफुहरुकै हुने समेत ठोकुवा गरे ।