भद्रपुर । नेकपाका नेता महेश बस्नेतले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आव्हान गरेका छन् ।

झापाको धुलाबारीमा सोमबार आयोजित ओली पक्षका नेकपा कार्यकर्ताहरूको वृहत् युवा भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले  प्रधानमन्त्री केपी शर्मा ओलीको एजेन्डा बोकेर निर्वाचनमा लागेमा जित निश्चित हुने दाबी गरे ।  अन्य दलहरू सरकारविरुद्ध सडक प्रदर्शन गरि रहेपनि उनीहरू पनि भित्री रुपमा निर्वाचनको तयारीमा जुटिसकेको उनको भनाइ थियो  । त्यसैले ‘अब हामी पनि निर्वाचनको तयारीमा लाग्नुपर्छ, उनले भने ।’

माधवकुमार नेपाल र झलनाथ खनालले कम्युनिस्ट आन्दोलनको इतिहास बिर्से जस्तो भएको बताउँदै भने ‘नबिर्सिनुहोस् कमरेडहरू, एमाले पार्टीकै चुनाव चिन्ह ‘सूर्य’ हो, सूर्य चिन्ह हाम्रै हो,  यसको लागि हामी जस्तो सुकै बलिदान दिन तयार छौँ ।’ अहिले सूर्य चिन्हमा पुष्पकमल दाहाल प्रचण्डले कुदृष्टि लगाइरहेको उनको आरोप थियो ।

मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सुशासन, भ्रष्टाचारमुक्त, विकास निर्माणमा लागेका प्रधानमन्त्री ओली मुलुकका राजनेता भएको बताउँदै उनले भने, ‘कुचो लिएर झाडी सफा गर्न जाँदा झारीमा बसेका बारुला र अरिङ्गालले टोक्न खोजे, प्रधानमन्त्री ज्यु अब हातमा आगो लिएर अघि बढ्नुहोस् झारीमा बसेका त्यस्ता बारुला र अरिङ्गाल जलाएर अघि बढ्नुहोस्, तपाईँको साथमा हामी छौँ ।’

अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने खेलमा प्रचण्ड र नेपाल समूह लागि परेको आरोप लगाउँदै उनले भने, ‘लोकतन्त्रिक पद्धति विपरीत सरकारविरुद्ध आन्दोलनको नाममा सीमा नाघ्ने काम गरिँदैछ, कालोझण्डा देखाउने, निषेध तथा अवरोध गर्ने हर्कत बढ्दै गएकोले त्यसको प्रतिकारमा युवा सङ्घका कार्यकर्ता सडकमा उत्रिन नपरोस् ।’ जनताको चाहना बमोजिम राष्ट्र निर्माण र एकताको पक्षमा प्रधानमन्त्री ओली रहेकाले उनलाई आफुहरुले साथ दिएको बस्नेतले बताए ।