भद्रपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक भएको भन्दै झापाका नेकपा कार्यकर्ताहरुले विरोधपत्र बुझाइएका छन् ।
नेकपा कार्यकर्ताहरु शुक्रबार मध्यान्ह झापा सदरमुकाम चन्द्रगढीमा भेला भइ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना मार्फत प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाएका हुन् ।
नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला सङ्घर्ष समितिका संयोजक रविन कोइराला, केन्द्रीय सदस्य एवम् सह–संयोजक धर्मशिला चापागाई, सचिव मणिकुमार (विजय) साम्पाङ, प्रदेश कमिटी सदस्यहरुसहित ५ सय भन्दा बढीको सङ्ख्यामा गएको समूहले प्रशासन कार्यालय परिसर भित्र विरोधपत्र र एकथान नेपालको संविधान बुझाएको थियो ।
संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नदिएकाले संविधानको सम्बन्धित धाराको पुनः अध्ययन गर्न भन्दै सो धाराको प्रति समेत पठाएको पत्रमा उल्लेख गरिएको छ । राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिधि सभा सुचारु गरी संविधानलाई कृयाशील बनाउने पक्षमा आउन अनुरोध गदै सच्चिन अवसर दिएको पत्रमा जनाइएको छ ।
कार्यक्रममा अर्जुनधार नगरका मेयर हरिकुमार राना, भद्रपुर नगर उपमेयर चन्द्रमाया श्रेष्ठ लगायत उपस्थिती रहेको नेता नरेश सञ्जेलले जानकारी दिए ।