भण्टाबारी । सुनसरीको कोशी गाउँपालीकामा अपांगता भएका व्यक्तिहरुको लागि आयोजित स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ ।

गएको बिहीबारबाट सुरु भएको उक्त शिविर आठवटै वडा गर्दै बुधबार सम्पन्न भएको आयोजकले जनाएको छ ।

कोशी गाउँपालीकाको आयोजना तथा समाजिक विकास मन्त्रालय प्रदेश १ र करुणा फाउन्डेसनको साझेदारीमा उक्त शिविर आयोजना गरिएको  हो ।

कोशी गाउँपालीकामा संचालित अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत आयोजित  स्वास्थ्य परिक्षण शिविरमा ४७९ जनाले सेवा लिएको कार्यक्रमका फोकल पर्सन राजकिशोर मेहताले जानकारी दिए । 

 स्वास्थ्य परिक्षण शिविरमा आठवटै वडाका ४७९ जनाले परिक्षण गराएकोमा फेजिओथरोयापी सेवाको लागि १९५  जना,थप उपचारका लागि ९५ जना र सहायक सामाग्रीको लागि १६१ जना छनोट भएको मेहताले जानकारी दिए ।

शिविरमा १३२ जनालाई अपांगत भएको पहिचान गराइने नयाँ कार्ड वितरण गर्नुका साथै १७ जनाको रिन्यु गराइएको थियो । उक्त शिविरमा जेनेरल फिजिशियनबाट स्वास्थ्य परिक्षण, आँखा तथा कान विशेषज्ञबाट सेवा प्रदान तथा  शिविरमा अर्थोपेडिक,नेत्र विशेषज्ञ र ओडियोलोजिष्टबाट सेवा दिइएको थियो ।

आठवटै वडामा आयोजना गरिएको स्वास्थ्य परिक्षण शिविरको जिल्ला समन्वय समितिका प्रमुख गोपालराज भण्डारी, जिसस सदस्य अहलिया मेहता,कोशी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारी,उपाध्यक्ष अनिता यादव,प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरि,राष्ट्रिय अपांगता महासंघ प्रदेश नम्बर १ का अध्यक्ष पार्वता श्रेष्ठ, करुणा फाउन्डेसन नेपालका सिनियर म्यानेजर कमल कोइराला लगायतले अनुगमन गर्दै कार्यक्रम सम्पन्न गरिएको आयोजकले जानकारी गराएको छ ।