भण्टावारी/ सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा निर्मित खानेपानी आयोजना सात वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । 

स्थानीय उपभोक्ता समितिले आयोजनाको लापरबाहीका कारण पानी वितरण हुन नसकेको दाबी गरिरहेको छ भने आयोजनाले उपभोक्ता समितिको अवरोधले सञ्चालन गर्न कठिनाइ भएको बताएको छ । कोशी गाउँपालिका–१ लौकही, ७ को हरिपुर र ८ नम्बरको भण्टाबारीमा खानेपानी आयोजना निर्माण भएका छन् । निर्माण सम्पन्न भएका आयोजना अब जीर्ण हुने अवस्थामा पुगेका छन् ।

तर, पनि हालसम्म आयोजनाले पानी दिने विषयमा चासो लिएको छैन । केही समयअघि मात्रै कोशी गाउँपालिका–७ हरिपुरमा निर्मित आयोजनाका विषयमा ब्लाष्ट टाइम्स दैनिकले समाचार प्रकाशित गरेको थियो । त्यसबेला जनप्रतिनिधिले सञ्चालनमा ल्याउने भने पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । २०७१ सालमा साविक हरिपुर र श्रीपुर गाविस हाल कोशी गाउँपालिका वडानम्बर ६ र ७ का जनताको पहुँचमा स्वच्छ पानी पु¥याउने उद्देश्यले खानेपानी आयोजना निर्माण गरिएको हो । त्यसैगरी सोही वर्ष निर्माण कार्य सम्पन्न गरिए पनि लौकही र भण्टाबारीको खानेपानी आयोजना सञ्चालनमा आएको छैन ।

भण्टाबारी खानेपानी आयोजनामा तीनवर्ष पहिले केही समयका लागि आयोजना सञ्चालनमा आए पनि पुनः बन्द भएको थियो भने हरिपुर र लौकहीका आयोजना आजसम्म सञ्चालनमा नआएको स्थानीय बताउँछन् । एउटा आयोजनाको निर्माणकार्य सम्पन्न गर्न २ देखि अढाई करोडसम्म लागत लागेको स्थानीय बताउँछन् । ती आयोजनाहरू उपभोक्ता समितिमार्फत् निर्माण गरिएका हुन् । 

ग्रामीणभेगका जनतालाई स्वच्छ पानी घर–घरमा पु¥याउने लक्ष्यका साथ निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा नआउँदै जीर्ण बनेको स्थानीय ललित मुखियाले जानकारी दिए । ७ वर्षअघि खानेपानी आयोजना निर्माण भए पनि स्वच्छ पानी पिउने धोको पूरा हुन नसकेको गुनासो गर्दै उनले खानेपानी आयोजनाका सामग्री जीर्ण बनेकोबारे ध्यानाकर्षण गराउँदै आउँदासमेत कुनै सुनुवाइ नभएको बताए ।

२०६६ सालमा निर्माण सुरु भई २०७० सालमा निर्माण कार्य सकिए पनि हरिपुरक्षेत्रका जनता अझै स्वच्छ पानी पिउन प्रतीक्षारत रहेको स्थानीय सुनिल यादवको भनाइ छ । करोडौं खर्चिएर बनाइएको खानेपानी आयोजना प्रयोगविहीन अवस्थामा पुग्दासमेत सञ्चालनमा ल्याउन पहल नभएको उनले बताए । 

‘एक दशक अघिसम्म खानेपानी आयोजना नहुँदा यसक्षेत्रका जनता स्वच्छ पिउने पानीबाट बञ्चित थिए भने खानेपानी आयोजना सम्पन्न भइसक्दासमेत अवस्था उस्तै छ’–भण्टाबारीका स्थानीय युवा दिलजान आलमले भने ।  २०६५ साल भदौमा आएको विनाशकारी बाढीपश्चात् जनताको घरमा स्वच्छ पानी पु¥याउने उद्देश्यले निर्माण गरिएका खानेपानी आयोजना अझैसम्म सञ्चालनमा आउन नसक्नु दुःखद् भएको उनको भनाइ छ ।

‘प्रदूषणयुक्त पानी पिउन बाध्य कोशी क्षेत्रका सर्वसाधारण खानेपानी आयोजना निर्माण भएपछि स्वच्छ पानी पिउने र रोगबाट बच्ने आशामा थिए । तर, त्यो पूरा हुन नपाउँदै खानेपानी आयोजनाको भवनदेखि जडान गरिएका पाइपसमेत जीर्ण बनेको छ’–उनले भने । स्वच्छ खानेपानी अभावमा सुकुम्बासी क्षेत्रका सर्वसाधारण विभिन्न रोगबाट ग्रसित हुनुपर्ने अवस्था यथावत् रहेको कोशी–७ का वडाध्यक्ष रामचन्द्र महतो बताउँछन् । 

‘दलित समुदायको बसोबास रहेको क्षेत्र भएकोले उनीहरूमा चेतनाको अभाव छँदैछ, झन् खानेपानी सञ्चालनमा नआउँदा बिरामीको चाप बढ्दो छ’–उनले भने । यता निर्माणकार्य सम्पन्न हुँदा पनि सञ्चालनमा नआएका र जीर्ण अवस्थामा रहेको खानेपानी आयोजना सुचारु गराउन आफूहरू प्रयासरत रहेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिए ।

तीनवटै खानेपानी आयोजना मर्मतसम्भार गर्न काम थालिएको बताउँदै उनले वैशाखसम्ममा सर्वसाधारणको पहुँचमा स्वच्छ खानेपानी पु¥याउने लक्ष्य लिएको दाबी गरे । कोभिड –१९ का कारण खानेपानी आयोजना सञ्चालनमा नआउँदा सर्वसाधारणको पहुँचमा स्वच्छ पानी पु¥याउन समय लागेको उनको भनाइ छ ।