धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल नेतृत्वको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम विरुद्ध आन्दोलन गर्न धरानमा पनि आन्दोलन परिचालन समिति गठन गरेको छ ।

सोमबार प्रचण्ड–माधव समूहको बैठकले १ हजार ५ सय १ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको हो । आइन्द्रविक्रम बेघाको संयोजकत्वमा गठित सो समितिको सहसंयोजकमा चोत्लुङ रहेका छन् । 

बैठकले पदम लिम्बुको संयोजकत्वमा स्वयंसेवक परिचालन कमिटी पनि गठन गरेको छ । यसैगरी चोत्लुङको संयोजकत्वमा स्रोत परिचालन कमिटी र केशव घिमिरेको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरिएको छ । 

सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज धर्मराज निरौला, विघटित प्रतिनिधिसभाका सदस्य जयकुमार राई, प्रदेश सभा सदस्य उमिता बराइली, नेताहरु रमेश बस्नेत, मुक्सामहाङ मेन्याङ्बो, योगेन्द्र मण्डल पप्पु, संविधानसभा सदस्य किरण राई लगायतले बोलेका थिए ।