देशमा पछिल्लो केही महिनायता सङ्घीयता खारेजीको मागसहित राजसंस्था पुनस्र्थापनाको माग गर्दै आन्दोलन र प्रदर्शन हुन थालेका छन् । यो प्रदर्शनले देशमा पुनः राजसंस्था ब्युँतिने हो कि भन्ने आशङ्काहरू पनि उत्पन्न हुँदैछन् । यहीबेला केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेको अवस्था छ । प्रतिनिधिसभा विघटन हुनुअघि देशका विभिन्न जिल्ला तथा सहरमा राजावादीहरूले हिन्दु राष्ट्र, सङ्घीयता खारेज र राजा आऊ देश बचाऊ भन्ने नारा ओकले । फेरि पनि यस्तै खालको नारा घन्किने तयारी सुरु भएको छ । प्रदेश १ को इटहरीबाट विराटनगरसम्म मोटरसाइकल ¥याली निकालिँदै छ । जसको नेतृत्व स्वतन्त्र देशभक्त नागरिक प्रदेश १ ले गरिरहेको छ । पुस २२ गते गरिने यो कार्यक्रम देशभक्त नागरिक भनिए पनि राजावादी संस्था शिव सेना परिचालित छ । देशमा बढेको भ्रष्टाचार, विकृति र विसङ्गतिपछि राजसंस्थाको आवश्यकता महसुस गरिँदै आएको राजावादीहरूको तर्क छ । यस्ता तर्क राणा फालिएपछि पनि चर्चामा आएका थिए । भ्रष्टाचार तथा आर्थिक अनियमिततालगायतलाई नियन्त्रण गर्नका लागि पनि राजसंस्था आवश्यक रहेको तर्क स्वतन्त्र देशभक्त नागरिकको छ । यस्ता विविध विषयमा शिव सेना मोरङका अध्यक्ष सतिस पोखरेलसँग ब्लाष्टले गरेको कुराकानीको सम्पादित अंशः

केही समययता राजावादीले आन्दोलन गर्दै आएका छन् । यस्ता आन्दोलनबाट पुनः राजसंस्था ब्युँतिएला भन्ने कुरामा विश्वस्त हुनुहुन्छ ?

–वर्तमान राजनीतिक दलले गरेका काम जनमुखी छैनन् । राजा फालेपछि जनताले सबै अधिकार पाउने र देश विकासतिर लम्किने आशा गरे पनि देश भ्रष्टाचारको दल–दलमा फस्यो । जसका कारणले जनतामा निराशा पैदा भएको छ । त्यसकारण पनि एकपटक राजा आउन जरुरी छ । राजा आउँछ भन्ने कुरामा हामी विश्वस्त छौं ।

राजाको पक्षमा २२ गते आन्दोलन गर्ने कुरा रहेछ, कहाँ कहाँको जनता भेला हुन्छन् ?

–इटहरीबाट भेला भएर विराटनगरसम्म पुग्ने कार्यक्रम छ । भेलामा पूर्वी नेपालका सुनसरी, मोरङ र झापासँगै अन्य जिल्लाबाट पनि राजाको पक्षमा आउनेछन् भन्ने हामीलाई विश्वास छ, विगत केही दिनयताका घटनाहरूले पनि पुष्टि गरिरहेको छ । हामीले अन्य पार्टीले जस्तो जनता बोलाउनु पर्दैन राजा ल्याऊ देश बचाऊ भन्दै जनता आफै सडकमा आउनेछन् । 

 एउटा कार्यक्रम गर्दा खर्च कति हुन्छ ? त्यो खर्च कहाँबाट आउँछ ?

–हामी खर्च आफू आफू मिलेर गर्दै आएका छौं । हामीले कार्यक्रम गर्दा बजारमा चन्दा मागेका छैनौं । नेपाली जनता मिलेर राजा ल्याउन जनता आफैले खर्च गर्दैछौं । जनता आफै खर्च लगानी गरेर राजाको पक्षमा सडकमा आएका हुन् । हामीले खर्च गरेर जनतालाई सडकमा ल्याएका होइनौं ।

राजाले आफैले खर्च गरेर देशभर आन्दोलन गराउँदै छन् भन्ने गम्भीर आरोप छ नि, यस विषयमा तपार्इंको राय ? 

–यो कार्यक्रममा राजालाई जोड्न मिल्दैन । यस्ता साना कार्यक्रमहरूमा राजाले खर्च गर्नु पर्दैन । देश नै धरासायी हुन आँटेको कारण जनताहरू आफै खर्च गरेर राजा ल्याऊ देश बचाऊ भन्न थालेका छन् । यो जनताको माग हो । खर्च कसैले गरेको होइन । हामी आफैले गरेका छौं, झण्डा किन्ने खर्च । राजनीतिक दलप्रति पक्कै जनता निराश हुन थालेको अनुभूति गर्न सकिन्छ । त्यसैले राजनीतिक दलले सडकमा बाँडेका सपना सत्तामा पुग्दा साकार नगरेपछि पक्कै सिङ्गो नागरिक राजाका पक्षमा उर्लेका हुन् ।