विराटनगर । नेकपा प्रचण्ड–माधव समूहका प्रदेश १ का संसदीय दलको बैठकले दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीलाई हटाएको छ । 

आइतबार बसेको प्रचण्ड–माधव समूहका बहुमत संसदीय दलको बैठकले राजभण्डारीलाई हटाएर संसदीय दलको सचेतकमा सौभाग्यवती राईलाई चयन गर्ने निर्णाय गरेको हो । 

प्रमुख सचेतक राजभण्डारी ओली समूहका हुन् । उनले मंगलबार मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने प्रचण्ड– माधव समूहका १९ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए । बिहीबार स्पष्टिकरण सोधिएका मध्ये १५ र बुधबार थप एक गरी १६ जनालाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ ।

बहुमत प्रदेशसभा सदस्यको उपस्थितिमा बसेको बैठकले प्रमुख सचेतकलाई जिम्मेवारीबाट हटाएने निर्णय गरेको नेकपा संसदीय दलका उपनेता टंक आङ्बुहाङले बताए । उनका अनुसार सम्पूर्ण कामको जिम्मेवारी नयाँ सचेतक राईलाई दिइएको छ । यस्तै बैठकले प्रदेशसभा कार्यब्यबस्था समितिमा बुद्धिकुमार राजभण्डारी र इन्द्रमणी पराजुलीलाई फिर्ता बोलाएर लिलाबल्लभ अधिकारी र उपेन्द्र घिमिरेलाई पठाउने निर्णय पनि गरेको छ ।

यसैगरी संसदीय दलले संसदीय दल बोर्ड पनि गठन गरेको छ । बोर्डमा संसदीय दलका नेता भीम आचार्य, उपनेता टंक आङ्बुहाङ, सचेतक शौभाग्यवती राई, अन्य नेताहरु राजेन्द्र राई, धिरेन्द्र शर्मा (रमण), इन्द्रबहादुर आङ्बो (मौसम), जीवन घिमिरे रहेका छन् भने सदस्यसचिवमा तुलसी न्यौपाने रहेका छन् । बोर्डमा संसदीय दलका नेता, उपनेता र सचेतक पदेन सदस्य रहने छन् भने पार्टीका केन्द्रीय सदस्य र सांसदहरुमध्येबाट ११ जनालाई अन्य सदस्यको रुपमा छानिएको हो ।