दमक । इमानसिहं चेम्जोङको सम्मानमा झापाको कमल गाउँपालिका वडा नं ५ मा प्रतिष्ठान बन्ने भएको छ ।
वडाको उत्तरी क्षेत्र सिम्लेमा निर्माण हुने प्रतिष्ठानमा चेम्जुङको जीवनीका सबै आरोह र अवरोहहरुको सचित्र राखिने बताइएको छ । प्रतिष्ठानका समितीका अध्यक्ष वीरबहादुर चेम्जुङका अनुसार इमानसिंह चेम्जोङ किराँत भाषाका विशेषज्ञ र किराँत इतिहासकारका धरोहर हुन् ।
आज पठनपाठनमा आएको किराँत भाषा र लिपिको विकास एवं विस्तारमा उनको अतुलनिय योगदान रहेको पाइन्छ । सोहि योगदानका बारेमा कसैले उनको बारेमा अध्ययन गर्न चाहेको खण्डमा त्यसका लागि आवश्यक सबै श्रोत र साधन यहिबाट सम्भव गराउने गरि प्रतिष्ठान निर्माण गर्न लागिको अध्यक्ष चेम्जुङले बताए ।
उनको जन्म १७ पुस १९६१ मा भारतको पश्चिम बंगालस्थित कालिम्पोङको रिन्केबुङ बस्तीमा भएको थियो । नेपालको पाँचथर आङसराङबाट भारतको कालिम्पोङमा उहाँ पुगेका थिए ।
चेम्जुङले यो समुदायमा पुर्याएको योगदानलाई कदरगर्न पनि प्रतिष्ठानको आवश्यक ठानेर निर्माण गर्न लागिएको. हो । दमक र कमल जोड्ने रतुवा खोलाको नयाँ पुलको पूर्वपटिको खाली रहेको डेढ बिगाह एलेनि जमिन प्रतिष्ठान निर्माणका लागि भनेर तारघेरा गरिएको छ ।
आवश्यक पकृया पुरा गरेर दाताकै सहयोगमा प्रतिष्ठान निर्माणको काम अघि बढाईने अध्यक्ष बिरबहादुर चेम्जुङले जानकारी दिए ।