इटहरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल नेतृत्वको  समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई अघि बढाउन सुनसरीमा परिचालन समिति गठन गरेको छ ।

सुनसरीको इटहरीमा शनिबार सो पार्टीद्वारा आयोजित भेलामा १५ सय ९१ सदस्यीय आन्दोलन परिचालन समिति घोषणा गरिएको छ । पार्टीका केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज धर्म निरौलालाई आन्दोलन परिचालन समितिको संयोजक तोकिएको छ । 

त्यसैगरी, आन्दोलनलाई व्यवस्थित बनाउन ३५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ । त्यसैगरी विभिन्न उपसमिति पनि गठन गरिएको छ । जिल्लाका संगठन विभाग प्रमुखको नेतृत्वमा स्वयम् सेवक परिचालन उपसमिति गठन गरिएको छ भने पार्टी प्रदेश कमिटि सदस्य मुक्सामहाङ्ग मेन्याङ्बो (मुकेश)को नेतृत्वमा स्रोत परिचालन उपसमिति गठन गरिएको छ । प्रचार–प्रचार उपसमितिको संयोजकमा प्रेस संगठन प्रदेश १ संयोजक राजन केडी रहेका छन् । भेलाले आन्दोलन परिचालन समितिको अनुमोदनसमेत गरेको छ ।

भेलालाई सम्बोधन गर्दै आन्दोलन परिचालन समिति संयोजक धर्म निरौलाले प्रधानमन्त्री केपी ओलीले पहिलेदेखि नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई विभाजनको दिशामा धकेलेको आरोप लगाए । उनले भने– ‘मदन भण्डारी फाउण्डेशनको नाममा ओलीले पार्टी विभाजनको सुरुवात गरेका हुन् ।’ 

फाउण्डेशनको नाममा राज्यको सम्पत्ति दुरुपयोग समेत भएको निरौलाको भनाई थियो । ‘प्रधानमन्त्री हुनका लागि ओलीले पार्टी एकता गरे, अनि भइसकेपछि पार्टी फुटाए’ संयोजक निरौलाले भने । उनले ओलीले पार्टीलाई दक्षिणपन्थी धारमा लगेर विर्सजन गरेको आरोप लगाए ।

त्यसैगरी, विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले ओली कम्युनिष्टको बंशनासको अभियानमा अघि बढेको  आरोप लगाए ।  उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले सरकार र कम्युनिष्ट पार्टीलाई बर्बाद बनाएको बताए । उनले भने–‘ओलीलाई पार्टी र सरकार बोकाको मुखमा कुभिण्डोजस्तै भयो ।’ 

आचार्यले ओली तत्कालीन एमालेको केन्द्रीय कमिटि बैठकमा गणतन्त्रको ऐजेण्डमा जान नमानेको स्मरण गरे । 

भेलामा उपस्थित अगुवा नेता तथा कार्यकर्ताहरुलाई पार्टी केन्द्रीय सदस्यहरु रामकुमारी चौधरी, निर्मल बराल, महफुज अन्सारी र किरण राईले प्रतिगमन विरुद्धको आन्दोलनमा डटेर लाग्न निर्देशन दिएका छन् । साथै पार्टीको जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद मण्डल (पप्पु)ले पार्टीको तल्ला कमिटिहरुको बैठक राखी आन्दोलनको तयारी गर्न निर्देशन दिएका थिए । भेलाको संचालन पार्टी जिल्ला सचिव रमेश बस्नेतले गरेका थिए भने पार्टीको इटहरी उपमहानगर कमिटि अध्यक्ष बहादुरसिंह तामाङ्गले गरेका थिए ।