धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध अदालतमा परेका मुद्धा विचाराधीन अवश्थामा छन् । आम नागरिकमा अदालतले कस्तो फैसला सुनाउला भन्ने चासो छ । 

प्रधानमन्त्री ओलीले भने अदालतमा विचाराधीन अवश्थामा रहेको सोहि विषयमा बोल्दै प्रतिनिधिसभा कुनैपनि हालतमा पुनस्र्थापना नहुने दाबी गरेका छन् । 

शनिबार आफ्नो पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरुको भेलामा बोल्दै ओलीले भनेका छन्, ‘प्रतिनिधिसभा पुनस्र्थापना हुने कुरा कहाँबाट आयो ? कसले भन्यो पुनस्र्थापना हुन्छ भनेर ? पुनस्र्थापना हुँदैन ।’

ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनस्र्थापनाको नचाहिंदो हल्ला फैलाएको बताएका छन् । कतिपयले प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भनेर कुप्रचार गरिरहेको उनको भनाई थियो । 

दाहाल–नेपाल समूहले राष्ट्रपति समक्ष विशेष अधिवेशन माग गर्ने तर संसदमा सरकारले लगेका प्रस्ताव निर्णयार्थ प्रस्तुत नगर्ने जस्ता अड्को थापेकाले प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको घोषणा गरिएको बताए । आफुले संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए । 

आफुले प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिएको भन्दै ओलीले अब पुनस्र्थापना हुनै नसक्ने बताए । उनले मुद्दा लड्नु सबैको अधिकार रहेको र लड्दै गर्ने तर निर्वाचनको तयारी सुरु भइसकेको बताए । लोकतन्त्र, संविधान, स्थिरता र स्थायित्व खतरामा परेकाले आफुले प्रतिनिधिसभा विघटन गरेर नयाँ जानादेशका लागि जाने सिफारिस गर्नु परेको ओलीको दाबी छ ।