धरान । आज शनिबार विहान सप्तकोशी नदीले बगाउँदै ल्याएकी महिलाको उद्दारपछि मृत्यु भएको छ ।
शनिबार विहान करिब १० : ५० बजेको समयमा अन्दाजी ५०/५५ उमेर जस्ती देखिने एक महिलालाई सप्तकोशी नदीले बगाउँदै ल्याएको थियो । बग्दै आएकी महिला जीवितै देखेपछि बराहक्षेत्र–१ चतरामा स्थानीय र प्रहरीले उद्दार गरेका थिए । उद्दारपछि उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएकी ति महिलालाई अस्पताल ल्याई पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । नाम, ठेगाना नखुलेकी ति महिलाको शव प्रतिष्ठानकै शव गृहमा राखिएको इलाका प्रहरी कार्यालय चक्रघटीका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिए ।
इन्स्पेक्टर राजवंशीका अनुसार महिलालाई सप्तकोशीले बगाउँदै ल्याएको खबर पाउनासाथ प्रहरी टोलि परिचालन गरिएको थियो । बग्दै गरेकी महिलालाई एक किलोमिटर तलसम्म पछ्याएर उद्दार गरिएको थियो ।
बग्दै आएकी महिलाको शरिरमा हरियो पेटिकोट मात्र छ । छाति सम्म पेटिकोट बाँधेकी, दाहिने हातको साइली औलामा सुनको जस्तो औठी लगाएकी, कानमा सुनको जस्तो सिक्री सहितको टप लगाएकी, हेर्दा क्षेत्री बाहुन जस्तो देखीने, बर्ण गहुँगोरी, दाँत अगाडीको केही उछिटिएको जस्तो देखीने ति महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले उनका आफन्त वा चिन्ने, जान्नेहरुलाई सम्पर्क गर्न आग्रह गरेको छ ।